नापजाँच सकिएको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

8.4K
shares
Nabil bank

 

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साविक रमदैया भवाडी गाविस वडा नं. २, ३, ४, ६, ७ र ८ अन्तर्गतका क्षेत्रमा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गाको कानुनी स्वामित्वसमेत प्राप्त गरेका हुन्।

नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी ३८८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। सम्बन्धित क्षेत्रमा जग्गाको नापजाँच तथा नापनक्साको काम २०७४ सालमै सम्पन्न भएको थियो। तर नापजाँच सकिए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा स्थानीयले वर्षौँसम्म लालपुर्जा पाउन सकेका थिएनन्।

लामो समयदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया अघि बढाइएपछि अहिले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। लालपुर्जा पाएसँगै स्ववासीका रूपमा रहेका स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीयलाई जग्गाको कारोबार तथा स्वामित्व हस्तान्तरणलगायतका कानुनी काम गर्न सहज हुने अपेक्षा गरिएको छ। त्यस्तै, जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन तथा जग्गासम्बन्धी विवाद समाधान गर्नसमेत सहज हुनेछ।

यसअघि पनि धनुषामा स्ववासीका रूपमा बसोबास गर्दै आएका ३ हजार ९ सय ६६ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको जनाइएको छ।

यसरी वर्षौँदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारले जग्गाको कानुनी स्वामित्व पाएपछि उनीहरूमा राहत र खुसी थपिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x