सरकार काम गर्न असफल, सदन कानुन बनाउन !
वि.सं.२०८३ असोज ३ शनिवार
shares
बालेन्द्र साह नेतृत्वको सरकार बनेको ६ महिना हुन लाग्यो । सदनमा झण्डै दुई तिहाई भएको शक्तिशाली सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । न सरकारले काम गर्न सकेको छ न सदनले । सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकछत्र छ । तर, कानुन कछुवा गतिमा निर्माण भइरहेको छ ।
हाजिर गर्ने र टाप कस्ने परिपाटी अहिलेपनि कायमै छ । विधेयक पारित गर्ने बेलामा सदनमा संख्या पुग्दैन । दुई तिहाई हुँदा त यस्तो छ भने विगतको के कुरा गर्नु ? सिण्डिकेटधारी, कालोबजारी गर्नेहरु झनै शक्तिशाली बन्दै गएका छन् । सरकारले सिण्डिकेट लगाउने, कालोबजारी गर्नेलाई कारबाही गर्न सकेको छैन ।हरेक सामानमा महँगी ह्वात्तै बढेको छ । चाडपर्व नजिकै गर्दा बजारमा चिनीको हाहाकार बनाउन थालिएको छ । ११० रुपैयाँको चिनी प्रतिकिलो १६० रुपैयाँ लिइरहेका छन्, व्यापारी । चामलमा प्रतिबोरा पाँच सयसम्म बढेको छ । तेल, गेडागुडी, दाललगायत अन्य खाद्यान्नको भाउ पनि आकाशिएको छ ।
बजारमा ग्याँस छैन । ग्याँस नभएको फाइदा होटल व्यवसायीहरुले उठाइरहेका छन् । सरकारले व्यवसायिक प्रयोजनका लागि आफैं ग्याँस भरेर ल्याउन भनेको छ । होटलवालाले आफ्नो गाडीमा ग्याँस ल्याएर २६ सय रुपैयाँ प्रतिसिलिण्डर उपभोक्तालाई बिक्री गरिरहेका छन् ।जबकि, सरकारले दुई हजार ६० रुपैयाँभन्दा बढी नलिन भनेको छ । होटलवालाले अहिले ग्याँसलाई व्यवसाय बनाएका छन् । आफ्नो ल्याउँदा अरुको पनि ल्याउने अनि ५४० रुपैयाँ बढी असुल्ने । अनि व्यवसायीले दुई हजार ६० मा बेच्छन् ? अब गरिबले भात खान सक्छन् ? चामल उस्तै महँगो, ग्याँस पनि ।
गरिबले कसरी खाने ? चाडपर्व नजिकिएको छ, बजार अनुगमन शून्यजस्तो छ । तत्कालीन उद्योगमन्त्री गौरीकुमारी यादवले ‘उद्योगीको पाता नफर्काएसम्म ग्याँस सहज हुँदैन’ भनि उद्योग समितिमा बोलेकी थिइन् । त्यसको भोलिपल्ट उनको मन्त्री पद गयो । उद्योग व्यवसायीहरुको दबाबमा उनले राजीनामा दिइन् ।गौरीकुमारीले बोलेको कुरा यथार्थ हो । उद्योगीको खोल ओढेर, राज्यको ढुकुटीमा योगदान पुर्याएका छौं भनेर उद्योगीले कतिसम्म गरेका छन् ? त्यो जनताले राम्ररी बुझेका छन् । सामानको मनपरी भाउ तोक्ने, गुणस्तरहीन सामान उत्पादन गर्ने, राज्यलाई कर छल्ने अनि हामीले सेवा गरेका छौं, निजी क्षेत्रले राज्यलाई योगदान पुर्याएको छ भन्ने ।
यो क्रम विगतदेखि चलिआएको हो । यही कुरा तत्कालीन उद्योगमन्त्री यादवले बोलिन् । त्यसपछि उनको पद चैट भयो । उनी रुँदै मन्त्रालयबाट निस्किनुपरेको छ । यहाँ उद्योगी र व्यापारीको नाममा कालोबजारी गर्ने, सिण्डिकेट लगाउनेहरु कति शक्तिशाली छन् भन्ने उदाहरण हो यो ।११ बजेअघि सेयर बजार खोल्न मिल्दैन । भदौ ३० गते १० बजेर ५० मिनेटमा सेयर दलालीहरुले सेयर ८६ अंकले बढ्यो भनेर देखाए । जबकि, सेयर बजार त ११ बजे मात्र खुला हुने हो । ११ बजेर १० मीनेटमा ९६ अंकले सेयर बढेको भनि देखाइयो । ३ बजे कारोबार बन्द हुने बेला ४८ अंक पुगेको थियो ।
दलालीहरुले यसरी सर्वसाधारण फसाइरहेका छन् । तर, सरकार बुझेर पनि बुझ् पचाएर बसेको छ । सरकारले पनि आम सर्वसाधारणलाई झुक्याउने काम गरिरहेको छ । यातायात व्यवस्था विभागले केही दिनअघि सार्वजनिक सवारी साधनको दर्ता खुलेको भनि सूचना जारी गर्यो ।कालो र हरियो प्लेटको ट्याक्सी, फो–स्ट्रक टेम्पो, कालिमाटीमा चल्ने ढुवानी गाडी, माइक्रोबसलगायत केसैको पनि नयाँ दर्ता खुलेको छैन । अनि खुलेको चाँहि केसको हो ? यसरी जनतालाई भ्रमित बनाउन मिल्छ ? यातायात व्यवसायीले लामो समयदेखि सिण्डिकेट लगाइरहेका छन् । सरकारले सिण्डिकेट तोड्न सकेको छैन ।
२० वर्षे पुरानो ट्याक्सी, माइक्रोबस र ग्याँस टेम्पोको स्क्रयाप गरेको नम्बर प्लेट १८ लाखमा बिक्री भइरहेको छ । यतातिर विभागको नजर किन नगएको होला ? काँग्रेस, एमाले, माओवादीले ३५ वर्षसम्म केही गरेन भन्ने भ्रम छरेर रास्वपा उदायो । चुनावअघि रास्वपाले ‘हामी भ्रष्टाचार रोक्छौं, भ्रष्टाचारको फाइल खोल्छौं’ लगायतको आश्वासन दिएको थियो ।भ्रष्टाचार रोक्न र फाइल खोल्नलाई केले रोक्यो ? अहिलेपनि सरकारी कार्यालयमा खुलेआम भ्रष्टाचार भइरहेको छ । केही दिनअघि मात्र ९ लाख रुपैयाँ घुससहित एक सरकारी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात समातेको छ । पुरानो सरकारले आफ्नो मान्छेलाई पोस्यो भनि रास्वपाले चर्को विरोध गर्यो ।
अहिले त्यही भइरहेको छैन र ? रास्वपा सभापति रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीशहरु बढुवामा परिरहेका छन् । यसले रवि निर्दोष रहेछन् कि दोषी ? प्रष्ट हुन्छ । रास्वपाले नराम्ररी जनतालाई झुक्यायो । पहिलेजस्तै अहिलेपनि सातामा दुईपटक मन्त्रिपरिषद्को बैठक बस्छ ।मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णय गर्न सकेको छैन । पहिलेको सरकारझैं सरुवा र बढुवा गर्ने, सकियो । बालेन सरकार पनि सरुवा र बढुवामै केन्द्रित भयो । न एउटा भ्रष्टाचारको फाइल खोल्न सक्यो न देशमा सुशासन नै आयो । बालेन सरकार बनेपछि समाजमा अराजकता झनै बढ्दै गएको छ ।
बेरोजगारीका कारण जनता गलत काममा लागेका छन् । दिनदहाडे चोरी हुन थालेको छ । सरकारले पाँच वर्षमा १२ लाखलाई रोजगारी दिने भनेको थियो । खोइ कहाँ छ रोजगारी ? रविले चुनावअघि रास्वपाको सरकार बनेको एक सय दिनमा एक सय नेपाली फर्काउन विदेशका गल्ली गल्लीमा पोस्टर टाँस्ने बताएका थिए ।विदेशमा भएका नेपालीलाई नेपालमै रोजगारीको व्यवस्था मिलाउँछु भनि घोक्रो सुक्नेगरी कराएका थिए । फर्काएर दिइयो त रोजगारी ? रास्वपा सरकारले विदेशबाट काँग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र सांसद आशिका तामाङ्गको श्रीमानलाई फर्काएको भन्दै जनताले खिल्ली उडाउन थालेका छन् ।
स्थानीय र प्रदेशको चुनाव नजिकिँदै छ । सात महिनामा स्थानीय र एक वर्षमा प्रदेशको चुनाव गराउनुपर्छ । स्थानीय र प्रदेशको चुनावमा रास्वपा गोलखाडी जाने देखिएको छ । रास्वपा सरकारको पनि गफै मात्र रहेछ भन्ने जनताले बुझिसकेका छन् । काम नगर्ने अनि जनताको ध्यान मोडिफाई गर्न नयाँ नयाँ फण्डा गरिरहने ।सरकार र सांसदले स्टण्ट गर्नबाहेक केही जानेका छैनन् । साउनमा मात्रै ७१ हजार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गए । श्रम स्वीकृति नलिईकन अवैध बाटोबाट जाने त कति होलान् । सरकारले बन्द भएको उद्योग पुनः सञ्चालन गर्छौं भनेको थियो । अहिलेसम्म कुनै छाँटकाँट देखिएको छैन ।
व्यक्तिको कब्जामा रहेको उद्योगको जग्गा फिर्ता ल्याउन पनि सरकारले पहल गरेको छैन । सांसदहरु जनताको एजेण्डा उठाउँदैनन्, सरकारको कमजोरी ढाकछोप गर्न र जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउनेकै कुरा उठाउनमा केन्द्रित छन् । त्यत्रो आन्दोलन के कारण भयो मतलब छैन, शालिक कहिले बनाउने मात्रै सोध्छन् ।जनताले त्यही गर भनेर रास्वपालाई मत दिएर पठाएको हो ? सरकारले काम गर्न नसक्दा काँग्रेस, एमाले, माओवादी शक्तिशाली बन्दै गएको छ ।
































