काण्डै–काण्डमा जोडिएका अर्याल अध्यक्ष बनेपछि हिमालयन बैंकमा भाडभैलो

159
shares

काठमाडौं ।पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल हिमालयन बैंकको अध्यक्ष बनेपछि उनको नियुक्तिलाई लिएर बैंकिङ तथा प्रशासनिक वृत्तमा प्रश्न उठ्न थालेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा एनसेलसम्बन्धी विवादमा नाम जोडिएका अर्यालमाथि मुख्यसचिव रहेकै बेला भ्रष्टाचारसम्बन्धी मुद्दासमेत चलेको थियो।

अर्याल नेपालको प्रशासनिक इतिहासमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा पर्ने पहिलो मुख्यसचिव बनेका थिए। उनीविरुद्ध विशेष अदालतमा मुद्दा चलेपछि प्रशासनिक वृत्तमा उनको नियुक्ति र जिम्मेवारीलाई लिएर व्यापक बहस भएको थियो। पछि विशेष अदालतबाट उनले सफाइ पाएका थिए।

विशेष अदालतमा अर्यालको पक्षमा पूर्वसचिव तथा केही बहालवाला सचिवसमेत कानुनी प्रक्रियामा संलग्न भएको चर्चा त्यतिबेला चलेको थियो। उनलाई विशेष दरबन्दी सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा हाजिर गराएको र त्यसको केही समयमै अर्यालले सरकारी प्रशासनबाट अवकाश लिएको घटनाले पनि प्रश्न उठाएको थियो।

अब त्यही पृष्ठभूमि बोकेका पूर्वमुख्यसचिव अर्याललाई हिमालयन बैंकको सञ्चालक समितिले अध्यक्षको जिम्मेवारी दिएको छ। यससँगै बैंकको नेतृत्वमा उनको प्रवेशलाई लिएर बैंकिङ क्षेत्रमा चासो बढेको छ।

अर्याल मुख्यसचिव नियुक्त हुँदा व्यवसायी चन्द्रप्रसाद ढकालसहित केही व्यवसायीले उनलाई बधाई दिएको विषयसमेत त्यतिबेला चर्चामा आएको थियो। अर्यालको नियुक्तिमा व्यवसायी तथा राजनीतिक पहुँचको प्रभाव थियो कि थिएन भन्ने प्रश्नसमेत सार्वजनिक रूपमा उठेको थियो। यद्यपि यस विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा स्पष्ट हुन आवश्यक छ। उनीबिरुद्दको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा छ ।

civil hospital
Hams Hospitals