जानकी आँखा अस्पतालमा ‘राजनीतिक दबाब’को आरोप, कर्मचारी कालोपट्टी बाँधेर सडकमा

‘पद नै स्पष्ट छैन, अधिकार कहाँबाट आयो?’—केन्द्रीय व्यवस्थापनमाथि कर्मचारीको प्रश्न, हुलहुज्जत र धम्की रोक्न माग

492
shares
Nabil bank

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित श्री जानकी आँखा अस्पताल, जनकपुरधाममा राजनीतिक हस्तक्षेप र स्वार्थ समूहको दबाब बढेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन्। अस्पतालका कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै स्वास्थ्यजस्तो संवेदनशील संस्थालाई राजनीतिक शक्ति प्रदर्शन र व्यक्तिगत स्वार्थको अखडा नबनाउन चेतावनी दिएका छन्।

कर्मचारीहरूले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई पठाएको ‘हाम्रो अपिल’ मा अस्पतालको व्यवस्थापनमा भइरहेको भनिएको हस्तक्षेप, विगतका विवाद, कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहार तथा बाह्य समूहको दबाबबारे गम्भीर प्रश्न उठाएका छन्।उनीहरूले अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय निर्णय रेडक्रसको विधान, प्रचलित कानुन, संस्थागत प्रक्रिया, पेशागत मर्यादा र बिरामीको हितअनुसार हुनुपर्ने माग गरेका छन्।

कर्मचारीहरूको मुख्य आपत्ति अहिले अस्पताल व्यवस्थापनमा देखिएको अधिकार र जिम्मेवारीको अस्पष्टता माथि छ।केन्द्रीय कार्यालयबाट कसैलाई अस्पताल व्यवस्थापन वा सञ्चालनमा जिम्मेवारी दिइएको भए कुन पदमा, कुन निर्णयका आधारमा र कति अधिकारसहित जिम्मेवारी दिइएको हो भन्ने कुरा स्पष्ट गर्नुपर्ने कर्मचारीहरूको माग छ।

केन्द्रीय कार्यालयले २०८३ असोज १४ गते धनुषा जिल्ला तदर्थ समितिलाई जानकी आँखा अस्पतालको अल्पकालीन व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी दिएको सार्वजनिक भएको छ। उक्त जिम्मेवारी धनुषा जिल्ला तदर्थ समितिका सभापति पंकजकुमार महतोलाई दिइएको र अस्पतालका महत्वपूर्ण विषयमा केन्द्रीय कार्यालयसँग समन्वय गरेर काम गर्न निर्देशन दिइएको समाचार सार्वजनिक भएको छ।तर कर्मचारीहरूको प्रश्न छ—अस्पतालमा प्रवेश गरेर आफूलाई पदाधिकारी भन्दै कर्मचारीमाथि निर्देशन, दबाब वा धम्की दिने अधिकार आखिर कसले र कुन कानुनी आधारमा दिएको हो?

कर्मचारीहरूको दाबीअनुसार पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट भनिएका केही व्यक्तिहरू अस्पतालमा आएर आफूलाई ‘सभापति’ भन्दै कर्मचारीमाथि दबाब र धम्की दिने गरेको आरोपसमेत उठेको छ।तर कर्मचारीहरूले पठाएको लिखित अपिलमा रास्वपाको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन। त्यसैले यो विषय कर्मचारीहरूले लगाएको आरोपका रूपमा मात्र प्रस्तुत गरिएको हो।

कर्मचारीहरूको भनाइमा राजनीतिक दल वा कुनै समूहसँग निकटता भएकै आधारमा अस्पतालको प्रशासन र कर्मचारीमाथि प्रभाव जमाउने प्रयास गरिए त्यसले अस्पतालको नियमित सेवा र संस्थागत अनुशासन दुवैलाई कमजोर बनाउनेछ।अस्पताल बिरामी उपचार गर्ने ठाउँ हो, राजनीतिक शक्ति प्रदर्शन गर्ने थलो होइन, कर्मचारीहरूको भनाइ छ।

केन्द्रीय कार्यालयलाई पठाइएको अपिलमा कर्मचारीहरूले अस्पतालभित्र विगतमा भएका भनिएका विभिन्न घटनाको समेत सूची प्रस्तुत गरेका छन्।पत्रमा पूर्व पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूबाट कर्मचारीको तलब रोकिएको, कर्मचारीमाथि दुर्व्यवहार तथा हातपात भएको, अस्पतालका ढोका मेटल कटर प्रयोग गरेर फुटाइएको र हुलहुज्जत गरिएको जस्ता आरोप लगाइएको छ।त्यस्तै, अस्पतालमा कार्यरत चिकित्सकको नेतृत्वमा कर्मचारीमाथि हातपात भएको र त्यससम्बन्धी भिडियो प्रमाण सुरक्षित रहेको दाबीसमेत पत्रमा गरिएको छ।यी आरोपबारे सम्बन्धित व्यक्तिहरूको धारणा भने कर्मचारीको अपिलमा समावेश छैन।

कर्मचारीहरूले अस्पतालमा लामो समयदेखि विभिन्न स्वार्थ समूहको प्रभाव र द्वन्द्व रहेको आरोप लगाएका छन्।अपिलमा एउटा पुरानो युनियनसम्बद्ध समूहले युनियनका नाममा अराजक गतिविधि गरेको, कर्मचारीको नाम जबर्जस्ती सदस्यतामा समावेश गरेको तथा युनियन अध्यक्ष चुनावमा समेत विवाद उत्पन्न गरेको आरोप लगाइएको छ।कर्मचारीहरूले यस्तो गतिविधिले अस्पतालको मूल उद्देश्य र पेशागत वातावरणलाई प्रभावित पारिरहेको बताएका छन्।

जानकी आँखा अस्पताल सामान्य संस्था मात्र होइन, लामो समयदेखि जनकपुरधाम र आसपासका नागरिकलाई आँखा उपचार सेवा दिँदै आएको स्वास्थ्य संस्था हो। सार्वजनिक विवरणअनुसार अस्पताल १०० शय्या क्षमतामा सञ्चालन भइरहेको छ र दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गरेका छन्।यस्तो संवेदनशील संस्थामा व्यवस्थापन विवाद, राजनीतिक दबाब वा कर्मचारीमाथिको धम्कीले अन्ततः सेवा लिन आउने बिरामीलाई नै प्रभावित पार्न सक्ने कर्मचारीहरूको चिन्ता छ।

त्यसैले उनीहरूले अस्पतालको विगतका गतिविधि तथा निर्णयको निष्पक्ष समीक्षा गर्न, संस्थागत प्रक्रिया बलियो बनाउन र कर्मचारी तथा केन्द्रीय व्यवस्थापनबीच पारदर्शी संवाद स्थापना गर्न माग गरेका छन्।

कर्मचारीहरूले आफ्नो अपिलमा नै स्पष्ट रूपमा नारा लेखेका छन्:

कर्मचारी एकता जिन्दावाद !
राजनीतिक दबाब मुर्दावाद !
कर्मचारी एकता जिन्दावाद !
स्वार्थ समूह मुर्दावाद !

उनीहरूको विरोध कुनै व्यक्ति विशेषलाई लक्षित नभएको दाबी छ। तर अस्पतालमा राजनीतिक पहुँच, व्यक्तिगत स्वार्थ वा समूहगत दबाबका आधारमा प्रशासन चलाउने प्रयास स्वीकार्य नहुने उनीहरूको स्पष्ट सन्देश छ।कर्मचारीहरूले केन्द्रीय नेतृत्वलाई हल्ला, पूर्वाग्रह, प्रतिशोध वा कुनै समूहको दबाबमा परेर निर्णय नगर्न आग्रह गर्दै अस्पतालको मूल मर्म र जनताको विश्वास जोगाउन अपिल गरेका छन्।

अस्पताल व्यवस्थापनको जिम्मेवारीसम्बन्धी पछिल्लो केन्द्रीय निर्णयलाई नै लिएर विवाद चर्किएको अवस्थामा अब प्रश्न केवल ‘अस्पताल कसले चलाउने?’ भन्नेमा सीमित छैन।

 

civil hospital
Hams Hospitals