नेता, नीति र नियत
वि.सं.२०८३ असोज २७ मंगलवार
shares
उत्कृष्ट संविधान, कयौँ आकर्षक ऐन-कानुन र प्रकृतिको अथाह वरदान पाएर पनि नेपाल किन सधैँ विकासोन्मुख देशहरूको अन्तिम सूचीमा रुमल्लिइरहन्छ ? के हामीसँग नीतिगत मार्गचित्रको कमी हो या त्यो मार्गचित्र कोर्ने र चलाउनेहरूको भित्री नियतमै खोट छ ?
कुनै पनि समाज, राष्ट्र र शासन व्यवस्थाको समुन्नति, स्थिरता एवं समग्र रूपान्तरणको जग तीनवटा मुख्य स्तम्भहरूमा अडिएको हुन्छ— नेता, नीति र नियत। मानव सभ्यता र राजनीतिक इतिहासलाई नियाल्दा यी तीन तत्वहरू एकअर्कामा यसरी अन्तरसम्बन्धित देखिन्छन् कि कुनै एकको कमजोरीले सिंगो राष्ट्रको भविष्य नै अन्धकारतिर धकेलिन्छ।
साधारण र व्यावहारिक अर्थमा, नेता त्यो जीवन्त चालक वा सारथि हो जसले समाजको रथलाई मार्गदर्शन गर्दछ भने नीति त्यो कानुनी खाका, मार्गचित्र र नियमहरूको संगालो हो जसको जगमा समग्र राज्य प्रणाली गतिशील रहन्छ। तर यी दुवैलाई ऊर्जा दिने र चलायमान बनाउने सबैभन्दा पवित्र आन्तरिक शक्ति भनेकै नियत हो, जसले नेताको भित्री मनसाय, नैतिकता र इमानदारितालाई प्रतिविम्बित गर्दछ। नेपाल जस्तो संक्रमणकालीन र विकासोन्मुख राष्ट्रको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक जरो बुझ्न र त्यसलाई अग्रगामी दिशा दिन यी तत्वहरूको अन्तरसम्बन्धलाई गहिरिएर मन्थन गर्नु आजको प्राथमिक आवश्यकता हो।
नेतृत्व केवल चुनाव जितेर कुर्सीमा बस्ने वा सत्ताको अधिकार चलाउने प्राविधिक विषय मात्र हुँदै होइन। नेता त त्यो दूरदर्शी युगपुरुष हो, जसले समाजका छरपस्ट सपनाहरूलाई समेटेर तिनलाई यथार्थको धरातलमा उतार्ने साहस राख्दछ। पाश्चात्य दर्शनका महान् चिन्तक प्लेटोले आफ्नो प्रसिद्ध ग्रन्थ ‘द रिपब्लिक‘ मा ‘दार्शनिक राजा‘ को परिकल्पना गर्दै देशको नेतृत्व त्यस्तो व्यक्तिले मात्र गर्नुपर्छ जो ज्ञान, विवेक र व्यक्तिगत लालसाबाट मुक्त भएको परोपकारी त्यागी होस् भनी उल्लेख गरेका छन्।
पूर्वीय दर्शनमा पनि महर्षि वेदव्यासले महाभारतको शान्तिपर्वमा राजधर्मको व्याख्या गर्दै नेताको सुख उसको व्यक्तिगत सुखमा होइन, बरु जनताको सुखमा निहित हुनुपर्ने संदेश दिएका छन्। शासन व्यवस्थामा नीतिहरू आफैं निर्माण हुने होइनन्, तिनलाई आकार दिने मुख्य शिल्पी नै नेता हुन्। संसदभित्र कानुन कोर्नेदेखि मन्त्रिपरिषद्बाट रणनीतिक योजनाहरू स्वीकृत गर्नेसम्मका हरेक निर्णायक मोडहरूको केन्द्रमा नेताकै भूमिका सर्वोपरी रहन्छ। तर नेता जतिसुकै शक्तिशाली वा लोकप्रिय भए पनि यदि उसले देश चलाउने सही मार्गचित्र अर्थात् नीतिको गहिराइलाई बुझ्न सकेको छैन भने उसको नेतृत्व दिशाहीन बन्न पुग्छ।
यही विन्दुमा नीतिको असाधारण शक्तिको चर्चा आउँछ, जसलाई विकास र सुशासनको अकाट्य मार्गचित्र मानिन्छ। नीति भनेको देश सञ्चालन गर्ने नियम, कानुन र दीर्घकालीन योजनाहरूको त्यो शाश्वत संगालो हो जसले व्यक्तिको स्वेच्छाचारितालाई बाँधेर राख्छ। दार्शनिक कौटिल्यले आफ्नो ग्रन्थ ‘अर्थशास्त्र‘ मा नीतिलाई राज्यको सुदृढ किल्ला मानेका छन्, जसले समाजमा न्यायको रक्षा गर्छ र बलियाहरूबाट निर्धाहरूलाई बचाउँछ।
समयको बहावसँगै नेताहरू आउँछन् र जान्छन्, सरकारहरू बदलिइरहन्छन् र अनुहारहरू फेरिरहन्छन्, तर नीति र पद्धति भने संस्थागत रूपमा सधैं रहिरहन्छन्। त्यसैले त लोकतान्त्रिक र सभ्य मुलुकहरूमा व्यक्तिको पूजा होइन, पद्धतिको सर्वोच्चतालाई स्वीकार गरिन्छ। एक असल नीतिले समाजका सबै वर्ग, लिङ्ग र समुदायलाई समानता र सामाजिक न्यायको प्रत्याभूति गराउँछ, जुन कल्याणकारी राज्यको वास्तविक प्राण हो। नेपालकै सन्दर्भमा पनि विभिन्न विधाका ऐन, कानुन र योजनाहरू हेर्ने हो भने ती निकै आकर्षक र वैज्ञानिक लाग्छन्। तर ती नीतिहरू जतिसुकै आधुनिक र प्रगतिशील भए पनि त्यसलाई कार्यान्वयन गर्ने तत्व अर्थात् नियत सफा भएन भने ती केवल कागजका निर्जीव खोस्टा मात्र साबित हुन्छन्।
नेता र नीतिको बीचमा जीवन्त सेतुको काम गर्ने र सिंगो शासन व्यवस्थाको मर्मलाई निर्धारण गर्ने सबैभन्दा संवेदनशील तत्व भनेकै नियत हो। यहाँनेर हामीले बुझ्नैपर्ने एउटा शाश्वत दर्शन के हो भने नीति आफैंमा राम्रो वा नराम्रो हुँदैन, त्यसलाई बनाउने र चलाउने नेताको नियत नै मुख्य कुरा हो। म्याकियावेली जस्ता यथार्थवादी चिन्तकले राजनीतिमा शक्ति र दाउपेचलाई मात्र महत्व दिए पनि इतिहासले सिद्ध गरेको छ कि नैतिकता र पवित्र नियत बिनाको शक्ति सधैं विनाशकारी हुन्छ।
श्रीमद्भगवद्गीताको निष्काम कर्मयोगको दर्शनले पनि यही भन्छ कि जब मानिसले फलको आशा वा व्यक्तिगत लोभबिना पवित्र मनसायले कर्म गर्छ, तब मात्र त्यो कर्मले समाजको कल्याण गर्छ। एउटै कानुनी व्यवस्थालाई असल नियत भएको नेताले जनताको भलाइका लागि प्रयोग गर्न सक्छ भने खराब नियत भएको नेताले त्यही कानुनको छिद्र खोजेर देशको सम्पत्ति लुट्न सक्छ। नीति त केवल एउटा निर्जीव साधन मात्र हो, त्यसलाई कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने कुरा सञ्चालकको भित्री चेतनामा भर पर्छ। सफा नियत भएको नेतृत्वले सधैं पारदर्शी ढंगले काम गर्दै भ्रष्टाचारको समूल नष्ट गर्न तयार हुन्छ भने खराब नियत भएको नेताले राम्रो नीतिलाई पनि आफ्नो निहित स्वार्थ अनुकूल बङ्ग्याएर नीतिगत भ्रष्टाचारलाई संस्थागत गरिदिन्छ।
नेपालको आधुनिक इतिहासलाई पल्टाएर हेर्ने हो भने नेतृत्वको असल वा खराब नियतले कसरी देशको नीति र भविष्यलाई प्रभाव पार्छ भन्ने थुप्रै प्रयोगात्मक उदाहरणहरू फेला पर्छन्। विगतमा जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई समेट्ने गरी ल्याइएको विद्युत ऐन र वनको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने सामुदायिक वन नीति जस्ता सकारात्मक दूरगामी निर्णयहरूकै कारण आज नेपाल वन संरक्षणमा विश्वमै नमुना बनेको छ भने जलविद्युतमा आत्मनिर्भर तर्फ उन्मुख छ।
दशकौंसम्म दैनिक अठार घण्टाको कहालीलाग्दो लोडसेडिङ भोगिरहेको देशमा जब राजनीतिक र प्रशासनिक तहमा सफा नियत र दृढ इच्छाशक्ति भएको नेतृत्वको मिलाप भयो, तब कुनै नयाँ ठूलो आयोजना बिना नै देश लोडसेडिङमुक्त भयो। यसले नीतिभन्दा नियत कति बलियो हुन्छ भन्ने कुरालाई अकाट्य रूपमा प्रमाणित गरिदियो। यसको विपरीत, नकारात्मक पाटोलाई हेर्दा हतारमा राष्ट्रिय गौरवका ठूला उद्योगहरूलाई कौडीको भाउमा निजीकरण गरिनु, शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारिकरणको चंगुलमा फसाउनु र पछिल्ला वर्षहरूमा विभिन्न कालखण्डका ललिता निवास वा एनसेल जस्ता प्रकरणहरूमा मन्त्रिपरिषद्बाटै निर्णय गराएर नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिनुले नेतृत्वको खराब नियतले देशलाई कति ठूलो मूल्य चुकाउन बाध्य पार्छ भन्ने छर्लङ्ग पार्दछ।
यही विरोधाभासपूर्ण पृष्ठभूमिमा नेपाली राजनीतिको वर्तमान परिदृश्य र चुनौतीहरू खडा भएका छन्। नेपालले विगत केही दशकमा राजनीतिक व्यवस्था परिवर्तनका लागि ठूला-ठूला क्रान्ति, जनआन्दोलन र बलिदान देख्यो, जसको बलमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गर्यौं। यस ऐतिहासिक कालखण्डमा धेरै नेताहरू फेरिए र थुप्रै नयाँ नीति तथा उत्कृष्ट भनिएको संविधान पनि बन्यो, तर आज पनि आम नेपाली नागरिकमा चरम असन्तुष्टि र निराशा व्याप्त छ अनि लाखौं ऊर्जावान युवाहरू रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा दिनानुदिन विदेशिन बाध्य छन्। यसको मुख्य जरो नेपालमा नीतिको अभाव हुनु होइन, बरु नेताहरूको नियतमा खडेरी पर्नु हो, जहाँ सत्तामा पुगेपछि देश र जनतालाई भुलेर शक्ति संरक्षणको खेल मात्र खेलिन्छ।
यस्तो गम्भीर परिस्थितिमा असल नीतिले नै मुलुक सुन्दर बन्ने र त्यो नीति नेताको नियतमा भर पर्ने भएकाले, यो समग्र चक्रको सबैभन्दा ठूलो साँचो र शक्ति सार्वभौमसत्ता सम्पन्न जनताको हातमा आउँछ। लोकतन्त्रमा जनता नै जनार्दन हुन्, जसले आवधिक निर्वाचनमार्फत देशको भाग्य र भविष्यको फैसला गर्ने ब्रह्मास्त्र पाएका हुन्छन्।
चुनावका बेला हरेक राजनीतिक दल र नेताले चिल्ला भाषण गर्ने र आकर्षक घोषणापत्रका नीतिहरू बाँड्ने गरे तापनि मतदाताले नेताको बाहिरी आवरण मात्र हेरेर भोट दिनु हुँदैन। नेताको भित्री मनसाय, उसको विगतको नैतिक चरित्र र समाजप्रतिको समर्पण जस्ता ट्र्याक रेकर्डको गहिरो मूल्याङ्कन गर्नु आवश्यक छ। विगतमा भएका गल्तीहरूबाट पाठ सिकेर मात्रै आगामी दिनमा सचेत मतदाताले सही नेता छान्न सक्छन् भन्ने कुरालाई हामीले आत्मसार गर्नैपर्छ। इतिहासको ऐना हेरेर विगतमा हामी कहाँ मख्ख पर्यौँ र कसरी क्षणिक प्रलोभन वा दलीय अन्धभक्तिको सिकार भयौँ भन्ने समीक्षा नागरिक स्तरमा हुन नसके भविष्यमा फेरि तिनै गल्तीहरू दोहोरिने निश्चित छ। त्यसैले अबको मतदान केवल एउटा भोट हाल्ने औपचारिकता नभई विगतका भूलहरूको सुधारात्मक कदम हुनुपर्छ।
मुलुकलाई वर्तमान संकट र चौतर्फी निराशाबाट बाहिर निकाल्न राजनीतिलाई पेसा वा कमाउने माध्यम नबनाई विशुद्ध सेवा र त्यागको रूपमा स्थापित गर्नुपर्छ, जसका लागि सक्षम, उच्च शिक्षित र सफा नियत भएका युवा पुस्तालाई नेतृत्व तहमा अगाडि बढाउँदै पुराना खराब प्रवृत्तिका पात्रहरूलाई ससम्मान बिदाइ गर्न ढिला भइसकेको छ। देशको दीर्घकालीन हितका लागि लगानीमैत्री आर्थिक नीति र व्यावहारिक शिक्षा नीति तर्जुमा गरी त्यसलाई दलगत स्वार्थभन्दा माथि राख्नुपर्छ र खराब नियतले भ्रष्टाचार गर्ने जुनसुकै तहको पदाधिकारीलाई पनि कठोर कानुनी कारबाही गर्ने निष्पक्ष संयन्त्र निर्माण गरिनुपर्छ।
निष्कर्षमा, नेता राष्ट्रको मस्तिष्क हो जसले विचार गर्छ, नीति यसको बलियो र लचिलो मेरुदण्ड हो जसले प्रणालीलाई थाम्छ भने नियत यसको धड्किरहेको हृदय हो जसले सिंगो व्यवस्थामा निष्पक्षता र मानवीयताको रगत सञ्चालन गर्छ। मस्तिष्क र मेरुदण्ड जतिसुकै आकर्षक र बलियो देखिए पनि यदि हृदय सफा र स्वस्थ छैन भने त्यो शरीर लामो समय चल्न सक्दैन। तसर्थ, नियत बदलिए नीति बदलिन्छ, नीति बदलिए पद्धति बदलिन्छ र पद्धति बदलिएर नै अन्ततः यो मुलुक सुन्दर र समृद्ध बन्दछ, जसको सुरुआत जनताको सचेत छनोटबाट मात्र सम्भव छ।
यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
हाल: कलंकी १४, काठमाडौँ
मोबाइल: ९८४१३६९९२८































