सरकारी गाडीको दुरुपयोग रोक्ने भन्दै नयाँ व्यवस्था प्रस्ताव, उपसचिवमुनिका कर्मचारीलाई अब छुट्टै गाडी नदिइने
वि.सं.२०८३ कात्तिक ६ शुक्रवार
shares
काठमाडौं । सरकारी खर्च कटौती र सवारीसाधनको दुरुपयोग नियन्त्रण गर्ने भन्दै सरकारले उपसचिव वा सोभन्दा मुनिका कर्मचारीका लागि सामूहिक सवारीसाधन (पुल सवारी) प्रयोग गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ। यो व्यवस्था कार्यान्वयनमा आए सरकारी गाडीलाई व्यक्तिगत सुविधाजस्तो प्रयोग गर्ने प्रवृिमा अंकुश लाग्ने अपेक्षा गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार व्यक्तिगत गाडी नकिन्ने उपसचिव वा सोभन्दा मुनिका कर्मचारीलाई अब २४ सै घण्टा प्रयोग गर्न पाउने गरी छुट्टै सरकारी गाडी उपलब्ध गराइने छैन। कार्यालयमा रहेका सवारीसाधनलाई साझा भण्डारमा राखेर सरकारी कामका लागि आवश्यक पर्ने कर्मचारीले पालैपालो प्रयोग गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सरकारी कामका लागि गाडी आवश्यक परेमा कर्मचारीले उपलब्ध सवारीसाधनमध्ये आवश्यकता र कामको प्रकृतिअनुसार प्रयोग गर्न पाउनेछन्। यसले एउटै कार्यालयमा धेरै गाडी थन्किने र कर्मचारीका नाममा छुट्टाछुट्टै सवारीसाधन राख्ने अभ्यासलाई निरुत्साहित गर्ने सरकारको अपेक्षा छ।


































