सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित, व्यक्तिगततर्फ राजबहादुर शाह
वि.सं.२०८३ मंसिर १ मंगलवार
shares
काठमाडौं । विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने १९ संस्था तथा एक व्यक्ति उत्कृष्ट करदाताका रूपमा घोषित भएका छन् । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्र, कारोबार समूह तथा व्यावसायिक गतिविधिअनुसार सबैभन्दा बढी आयकर तिर्ने करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरेको हो ।
विभागले सार्वजनिक गरेको उत्कृष्ट करदाताको सूचीमा औद्योगिक, बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, व्यापार तथा सेवा क्षेत्रका प्रतिष्ठित संस्थाहरू परेका छन् । संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि छनोट भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल उत्कृष्ट करदाता बनेको छ ।
वस्तु निर्यात गर्ने कम्पनीमध्ये डाबर नेपाल प्रालि उत्कृष्ट करदाता घोषित भएको छ । त्यस्तै, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्ने कम्पनीमध्ये इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपालले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसीबी फुड्स एन्ड फिड्स प्रालि उत्कृष्ट करदाता बनेको छ ।
बैंकिङ क्षेत्रबाट नबिल बैंक लिमिटेड उत्कृष्ट करदाताका रूपमा छनोट भएको छ । स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड र पर्यटन व्यवसायअन्तर्गत सोल्टी होटल लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाउने भएका छन् ।
वस्तु व्यापारको कारोबार गर्ने कम्पनीमध्ये आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा सीजी इम्पेक्स प्रालि उत्कृष्ट बनेको छ । वार्षिक ५० करोड रुपैयाँभन्दा बढी र एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा छनोट भएको छ ।
ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि उत्कृष्ट करदाता बनेको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायमा आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरेको छ । व्यक्तिगत आयतर्फ भने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
त्यसैगरी, वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड उत्कृष्ट बनेको छ । विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालिले उत्कृष्ट करदाताको स्थान हासिल गरेको छ ।
बीमा क्षेत्रअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् । लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा छनोट भएको छ ।
यसैबीच, नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेड उत्कृष्ट बनेको छ । कम्पनीले आर्थिक वर्ष २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर (भ्याट) विवरण तथा सोबमोजिमको कर समयमै दाखिला गरेको आधारमा उक्त स्थान प्राप्त गरेको हो ।
आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्र र कारोबार समूहलाई छुट्टाछुट्टै वर्गीकरण गरी करदाताको योगदानका आधारमा उत्कृष्ट छनोट गरेको जनाएको छ । यसबाट मुलुकको राजस्व प्रणालीमा निजी क्षेत्रका विभिन्न उद्योग, व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूको योगदानलाई पहिचान गर्ने उद्देश्य राखिएको छ ।
उत्कृष्ट करदाताको सूचीमा परेका संस्थाहरूले राज्यको राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । आयकर तथा मूल्य अभिवृद्धि कर समयमै दाखिला गर्नुका साथै नियमित कर सहभागिता जनाउने करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले विभागले यस्तो सम्मान प्रदान गर्दै आएको छ ।
बैंकिङ, बीमा, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि, उद्योग, व्यापार तथा सेवा क्षेत्रका संस्थाहरूको सहभागिताले नेपालको कर आधार विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको देखाएको छ ।































