टाटा समूह र सिप्रदियन सहायता संस्थाद्वारा बाढी प्रभावित नुवाकोटका परिवारलाई २ हजार स्टिल दराज वितरण
वि.सं.२०८३ मंसिर ३ बिहीवार
shares
काठमाडौं । टाटा समूह र सिप्रदियन सहायता संस्था (एसएसएफ) ले हिमताल विस्फोटबाट आएको बाढी (GLOF) का कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई २ हजार थान स्टिल अल्मिरा (दराज) हस्तान्तरण गरेका छन्।
‘एक टाटा नेपाल बाढी विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्थाको सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो। तत्कालीन राहतमा मात्र सीमित नभई बाढी प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले यो पहल गरिएको जनाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालन गरिएको यस कार्यक्रमले प्रभावित परिवारलाई घरायसी सामग्री सुरक्षित राख्न आवश्यक आधारभूत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बाढीका कारण घर र घरभित्रका सामग्री गुमाएका परिवारलाई स्टिल दराज उपलब्ध गराउँदा उनीहरूको दैनिक जीवनलाई व्यवस्थित बनाउन तथा पुनर्स्थापनाको प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेशप्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियालगायतको उपस्थिति थियो।
त्यसैगरी विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा विभिन्न प्रतिनिधि र स्थानीय सरोकारवालाहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित गर्न नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्दै उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्य निर्माण गर्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले ‘एक टाटा नेपाल बाढी विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए।
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले सामाजिक उत्तरदायित्व व्यवसायमा मात्र सीमित नरहेको उल्लेख गरे। वास्तविक आवश्यकता भएका समुदायसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको बताउँदै उनले कठिन परिस्थितिमा रहेका नागरिकसँग साथमा उभिने प्रतिबद्धता व्यक्त गरे।
उनले विपद् सामना गर्न सक्षम र समावेशी समाज निर्माणमा योगदान पुर्याउन संस्था निरन्तर सक्रिय रहने पनि बताए।
टाटा समूह र सिप्रदियन सहायता संस्थाको यो पहलले विपद्बाट घरबार तथा सम्पत्ति गुमाएका परिवारको पुनर्स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






























