१० राजनीतिक दल आबद्ध डि. एस. एले एउटै साझा चिन्ह ‘गितार’ लिएर चुनाव लड्ने, भदौ ७ गतेदेखि २३ गतेसम्मका चुनावी कार्यक्रम सार्वजनिक

2.1K
shares

काठमाडौं। विभिन्न १० दल आबद्ध डेमोक्रेटिक सोसलिस्ट एलायन्स (डि. एस. ए.) ले आगामी निर्वाचनमा गोलाकारभित्रको गीतार साझा चुनाव चिन्ह लिएर चुनाव लड्ने घोषणा गरेको छ । 

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ‘गीतार’ चिन्ह लिएर जाने जानकारी दिईएको हो ।

डिएसएका अध्यक्ष सिबी गहतराजको अध्यक्षतामा गत भदौ १ गते बसेको बैठकले साझा चुनाव चिन्ह गोलाकारभित्रको गितारलाई बनाउने निर्णय गरेको जनाईएको छ । डिएसएले संयुक्त कार्यक्रम र भेलाहरूको समेत आयोजना गरेको छ । आगामी भदौ ७ गतेदेखि प्रदेश १ बाट सुरु भई भदौ २३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा समापन हुनेगरी प्रत्येक जिल्लाबाट कार्यकर्ता परिचालन गरी भेला गर्ने भएको छ ।

डिएसएमा आबद्ध दलहरुले साझा चुनाव चिन्ह गोलाकारभित्रको “गितार’’लाई आफ्नै पार्टी, दल वा मोर्चाको चुनाव चिन्हका रूपमा आफ्ना मतदाता, शुभेच्छुक, समर्थक तथा आम जनतामाझ व्यापक रूपमा चिनाउन र प्रचारप्रसार गर्न समेत आग्रह गरिएको छ ।

साथै, केन्द्रीय कार्यक्रमअन्तर्गत काठमाडौंको प्रज्ञा भवनमा गरिने कार्यक्रममा प्रत्येक प्रदेशबाट ब्यापक सहभागी गराउनले समेत निर्णय गरेको छ ।

अध्यक्ष गहतराजले अहिले देशमा गणतान्त्रिक व्यवस्था कायम भएपनि फोटोकपिको रुपमा मात्र काम भइरहेको बताएका छन् । उनले अहिलेको व्यवस्थाले राष्ट्रिय गणतन्त्रको अनुभुति जनतालाई गराउन नसकेको गुनासो पोखे ।

उनले संविधानमा धर्मनिरपेक्षता भन्ने शब्द उल्लेख भएपनि जनताले अनुभुति गर्न नसकेको टिप्पणी गरे । उनले संविधानतः देशमा समानुपातिक प्रणालीको संरचना बनेपनि त्यो वास्तविक रुपले कार्यान्वयन हुन नसकेको बताए ।

‘देशको अबस्था बिग्रिएको छ, अब निकास दिन डेमोक्रेटिक भित्रका पनि प्रगतिशिल विचार तथा समाजवाद र साम्यवादभित्रका प्रगतीशील, नैतिकवान विचार बोकेका समुहबीच एकता भएको छ। प्रगतिशिलहरुको उत्कृष्ट विचार बोक्ने नैतिकवान समूहहरु मिलाएर डिएसए निर्माण गरेका छौं । डिएसएmे राष्ट्रियता, स्वाधिनता र जनजीविकाको सवालमा कटिवद्ध भएर दुवै विचार राख्नेहरुको एउटै नयाँ फ्युजनको रुपमा अभ्यास गरिरहेको छ ।’

उनले डिएसए अब नेपालको विकासको लागि अपरिहार्य गठबन्धन भएको पनि बताए । उनले भने,‘यो अपरिहार्य गठबन्धन हो । यसले नै देशलाई निकास दिने अठोट गरेको छ ।’ उनले विभिन्न दल र मोर्चाहरुको समुहको एलाएन्स निर्माण गरेर ‘गितार’ चिन्ह बोकेर जनताबीचमा जाने निर्णय गरेको समेत जानकारी दिए ।

प्रवक्ता राजु कार्कीले डिएसएले आगामी दिनमा जनताको समस्या र गुनासा सुनेर त्यसको जवाफ दिने गरि जनतामाझ जान लागेको जानकारी दिए ।

१३ पार्टीबीच चुनावी एकता गर्दै गर्दा आफुहरुमाथि केही प्रश्न उब्जिरेको भन्दै उनले ती प्रश्नको खोजी अब डिएसएले गर्ने बताए । आगामी चुनावमा एउटै साझा चुनाव चिन्हमा जानेबारेमा कार्यान्वयनका लागि सम्बन्धित समन्वय समितिहरूलाई समेत उक्त परिपत्र गरिएको उनले जानकारी दिए । उनले गत भदौ ५ गते बसेको बैठकका निर्णयहरु वाचन गरेर सुनाएका थिए ।

डिएसएका सचिव मानबहादुर तामाङ्ले नेपाली जनता पछिल्लो समय ठुला राजनीतिक दलसँग आँत्तिएको बताए । आम जनताले दलको विकल्प खोजिरहेको उनको भनाई थियो । उनले अब जनताको विकल्पको रुपमा डिएसए उभिने भन्दै उनले कसै न कसैले विकल्प नदिए देश फासीबादमा जाने टिप्पणी गरे ।

नयाँ शक्तिहरु बनेर पुरानै शक्तिमा बिलय भएको भन्दै डेमोक्रेटिस र सोसलिस्टहरु दुई पक्ष मिलेर एउटा उदाहरण दिन खोजेको उनको भनाई थियो ।

सर्पले सधे काचुली फेर्ने तर विष नफेर्ने भन्दै उनले नयाँ राजनीतिक दलहरुले पनि सोही प्रक्रिया लागु गरेको उनले आरोप लगाए । उनले भने,‘नयाँ दल खोलेर पनि केहीले पुरानै ढाचामा काम गरिरहे र पुरानै गुण कहिल्यै फेरेनन् ।’

नेपाल दलित पार्टीका संस्थापक अध्यक्ष मेघबहादुर कामीले देशलाई नयाँ आयाम दिन र परिवर्तनशील देश निर्माणका लागि डिएसएको सुरुवात गरेको बताए ।

नेपाली जनताले सामाजिक, आर्थिकलगायतका धेरै पक्षमा परिवर्तनको आशा गरेपनि निराशामात्रै पाएको उनको भनाई थियो । उनले विभिन्न राजनीतिक दल आवद्ध भएको डिएससको स्थापना देशमा भएका भ्रष्टाचार, शोषण, विदेशी हस्तक्षेप, अन्यायको विरुद्ध भएको समेत दाबी गरे ।

सामाजिक एकता पार्टीका उपाध्यक्ष तुलसी प्रसाद श्रेष्ठले डिएसएले चुनावकेन्द्रि संयुक्त कार्यक्रम र भेलाहरूको आयोजना गरेको जानकारी दिए । सो अवसरमा भेला, बैठक, प्रशीक्षण, समन्वय समिति गठन, पत्रकार सम्मेलन, अन्तक्रिया कार्यक्रम गरिनेपनि जनाए ।

यही भदौ ७ र ८ गते १ नम्बर प्रदेश, भदौ ९ र १० गते मधेश प्रदेश, भदौ १२ र १३ गते बागमती प्रदेशको हेटौंडामा, भदौ १५ र १६ गते गण्डकी प्रदेशको पोखरामा, भदौ १७ र १८ गते लुम्बिनी प्रदेश, भदौ १९ र २० गते कर्णाली प्रदेशको सुर्खेत, भदौ २१ गते कोहलपुर, बाँके र भदौ २२ र २३ गते सुदूरपश्चिम प्रदेशमा भेला गर्ने पनि जनाईएको छ ।

civil hospital
Hams Hospitals