पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरे आफ्नो सम्पत्ति विवरण सार्वजनिक
वि.सं.२०७८ जेठ २२ शनिवार
shares
काठमाडौं। अहिले पूर्वपरराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। ज्ञवालीले सामाजिक सन्जालमार्फत् आफू मन्त्री रहँदाको अवधिमा आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको बताएका हुन्।
पूर्वमन्त्री ज्ञवालीले आफूले मन्त्री हुँदाका बखत विदेश भ्रमण बापतको लेभी, पारिश्रमिक बापतको लेभी, पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापतको रकम सरकारी कोषमा दाखिला भएको बताए।यस्तै, उनले हाल आफ्नो खातामा भएको रकमबारे पनि खुलाएका छन्।
उनले भने,’केही घरायशी सामान तथा दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु।’
यस्तै, उनले नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई बधाइ तथा शुभकामना पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयबाट शुक्रबार मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्।
ज्ञवालीद्वारा सार्वजनिक सम्पत्ति विवरणः
धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापत्को लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८



























