इन्स्पेक्टर चौहान र सई अधिकारी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
वि.सं.२०८२ साउन ६ मंगलवार
19.7K
shares
shares
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि दुईजना प्रहरी अधिकृतलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै विशेष सम्मान प्रदान गरेको छ ।जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सिमाना), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारी महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७।६९ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई कारसहित नियन्त्रणमा लिएका थिए ।त्यसपछि भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५.८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ गरिनुका साथै, झापा गाउँपालिका–४ स्थित साइकलबाट १६७ ग्राम ब्राउन सुगर बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएका थिए ।
यसैगरी, प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भए ।त्यस्तै, उनले जन्मकैद सजाय पाएका व्यक्ति समेत समावेश २१ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएका थिए । साथै, लागू औषध दुर्व्यसन नियन्त्रणमा पनि उनको विशेष योगदान रह्यो ।
दुवै अधिकृतले विभागीय आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल, निष्ठा र साहसका साथ कर्तव्य पालन गरेका कारण उनीहरूलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































