रास्वपा सरकारप्रति बढ्दो असन्तोष — लगानी पलायन, उद्योग ठप्प र अर्थतन्त्रमा गहिरिँदो संकट

573
shares

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनसँगै उद्योग–धन्दा सञ्चालन, रोजगारी सिर्जना र आर्थिक सुधारको अपेक्षा गरेका सर्वसाधारण अहिले निराश हुन थालेका छन्। सरकार गठन भएको छोटो समयमै व्यापारी र उद्यमीमाथि धरपकड सुरु भएपछि लगानीकर्ताहरू त्रसित बनेको निजी क्षेत्रको गुनासो छ।

व्यवसायीहरूका अनुसार नेपालमा लगानी गर्ने वातावरण कमजोर बन्दै गएपछि कतिपयले वैधानिक लगानीभन्दा पनि गैरऔपचारिक माध्यम (हुन्डी) मार्फत् पूँजी विदेशतर्फ पठाउन थालेका छन्। विदेशी लगानीकर्ताहरू समेत अस्थिर नीति, कमजोर सुरक्षा अवस्था र अनिश्चित आर्थिक वातावरणका कारण नेपालमा लगानी गर्न हिच्किचाइरहेका छन्।

सरकारले बन्द अवस्थामा रहेका पुराना उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने माग उठिरहँदा त्यसतर्फ ठोस पहल नभएको आरोप छ। नयाँ उद्योग खोल्न आर्थिक अभावसँगै सुरक्षा चुनौती पनि उत्तिकै गम्भीर देखिएको छ। आन्दोलनका बेला उद्योगमाथि आक्रमण हुने क्रम नरोकिनु र क्षतिपूर्तिको व्यवस्था नहुनुले लगानीकर्तामा थप भय सिर्जना गरेको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निजी उद्योगहरूमा भएको आक्रमणपछि सरकारले पर्याप्त क्षतिपूर्ति नदिएको भन्दै व्यवसायीहरू असन्तुष्ट छन्। उता, निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ को महाधिवेशन स्थगित हुनु पनि आर्थिक क्षेत्रको अनिश्चितताको संकेतका रूपमा हेरिएको छ।

लगानीमैत्री वातावरण अभावकै कारण सेयर बजारसमेत सुस्त बन्दै गएको छ। कारोबार घट्दा राज्यले अर्बौं राजस्व गुमाउनुपरेको जानकारहरू बताउँछन्। यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ।

त्यसैबीच, सरकारले २०४६ सालयतिका उच्च पदस्थ नेता, मन्त्री र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेपछि केही व्यक्तिहरूले हतारमा सम्पत्ति लुकाउने, नामसारी गर्ने तथा अवैध माध्यमबाट विदेश पठाउने प्रवृत्ति बढेको आरोप छ।

महँगी चुलिँदै जाँदा र बेरोजगारी समस्या गहिरिँदा सर्वसाधारणको दैनिक जीवन झन् कष्टकर बन्दै गएको छ। अपेक्षित आर्थिक सुधार र राहतका कार्यक्रम ल्याउनुको सट्टा सरकारले विभिन्न क्षेत्रमा कडाइ बढाएर त्रासको वातावरण सिर्जना गरेको आलोचना भइरहेको छ।

यस्तै, ट्रेड युनियन तथा विभिन्न पेशागत र विद्यार्थी संगठनमाथि नियन्त्रण गर्ने प्रयासले पनि असन्तोष बढाएको छ। विश्लेषकहरू चेतावनी दिन्छन्—यदि सरकारको नीति र कार्यशैलीमा सुधार नआए देशमा सामाजिक तनाव र अस्थिरता थप बढ्न सक्ने खतरा छ।

civil hospital
Hams Hospitals