रेडक्रस नेतृत्वमाथि मोहम्मदको गम्भीर प्रश्न?पद खोसियो, तर आवाज रोकिएन…

58
shares
Nabil bank

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको वर्तमान तदर्थ नेतृत्वमाथि संस्थागत सुशासन, पारदर्शिता, विधिको शासन र युवाको सहभागिताका विषयमा गम्भीर प्रश्न उठेको छ। तदर्थ समितिका पूर्वकेन्द्रीय सदस्य मोहम्मद आयतुल्ला रहमानले आफूलाई जिम्मेवारीबाट हटाइएको घटनालाई व्यक्तिगत विषय नभई संस्थाको भविष्यसँग जोडिएको विषय भएको बताएका छन्।

सरकारबाट डा. विशालकुमार भण्डारीको अध्यक्षतामा गठित तदर्थ समितिमा केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु आफूका लागि पद प्राप्तिको विषय मात्र नभई राज्यले दिएको जिम्मेवारी र अल्पसंख्यक मुस्लिम समुदायका युवाप्रतिको विश्वास भएको रहमानको भनाइ छ। उनले रेडक्रसका मानवीय मूल्य, सिद्धान्त र आफ्नो अनुभवका आधारमा जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गरेको बताएका छन्।

तर संस्थाभित्र प्रश्न उठाउँदा र नेतृत्वका निर्णयमाथि पुनर्विचारको माग गर्दा आफूलाई नै समस्या ठानिएको उनले आरोप लगाएका छन्। विधान संशोधनलाई विधिसम्मत र व्यापक छलफलबाट अघि बढाउनुपर्ने तथा संस्थालाई दीर्घकालीन आर्थिक भार पर्ने विषयमा सावधानी अपनाउनुपर्ने धारणा राख्दा प्रश्नकर्तालाई नै संस्थाविरोधीको रूपमा चित्रण गरिएको उनको दाबी छ।

रहमानले रेडक्रसको संस्थागत निर्णयमा सदस्यको न्यूनतम मर्यादा र आचारसंहिताको पालना हुनुपर्ने आवाज उठाउँदा आफूलाई विरोधी बनाइएको बताएका छन्। प्रदेश तथा जिल्ला संरचना, आम रेडक्रसकर्मी र सरोकारवालाबीच व्यापक बहस गरेर मात्रै संस्थाको भविष्य निर्धारण गर्नुपर्ने आफ्नो आग्रहलाई समेत संस्थाविरोधीको आरोप लगाइएको उनको भनाइ छ।

यही प्रसंगमा उनले वर्तमान नेतृत्वको कार्यशैलीमाथि सीधा प्रश्न गरेका छन्— के रेडक्रस नेतृत्वले प्रश्न नसोध्ने सदस्य मात्र चाहन्छ? के फरक मत राख्नु अपराध हो? के रेडक्रसमा पद जोगाउन मौन बस्नैपर्छ?उनको स्पष्ट उत्तर छ— होइन।

रहमानले वर्तमान नेतृत्वले ‘युवा नेतृत्व र युवा सहभागिता’को नारा दिए पनि व्यवहारमा युवाको आवाजलाई पर्याप्त स्थान नदिएको आरोप लगाएका छन्।विपद्का बेला युवा स्वयंसेवक परिचालनका लागि स्पष्ट नीति बनाउनुपर्ने विषय उठाउँदा समेत आफ्नो आवाज नसुनिएको र अन्ततः युवा सहभागिताको सवाल उठाउने आफूलाई नै तदर्थ समितिबाट बाहिरिनुपर्ने अवस्था सिर्जना गरिएको उनले बताएका छन्।यसले रेडक्रसमा नारा र व्यवहारबीच कति ठूलो दूरी छ ? भन्ने प्रश्नसमेत जन्माएको छ।

रहमानले नेपाल रेडक्रस सोसाइटी कुनै व्यक्ति, अध्यक्ष वा महामन्त्रीको निजी संस्था नभएको स्पष्ट पारेका छन्। उनका अनुसार रेडक्रस हजारौँ स्वयंसेवक र सदस्यको साझा सम्पत्ति तथा नागरिकको विश्वासमा स्थापित मानवीय संस्था हो।त्यसैले संस्थालाई केही व्यक्तिको इच्छा वा तदर्थ निर्णयका आधारमा नभई विधि, पारदर्शिता, सुशासन, लोकतान्त्रिक अभ्यास र नियमित निर्वाचनमार्फत सञ्चालन गरिनुपर्ने उनको माग छ।

जिम्मेवारीबाट हटाएर आफ्नो आवाज रोक्न खोजिएको भए त्यो भ्रम मात्रै हुने रहमानले बताएका छन्।उनले पद र जिम्मेवारी खोस्न सकिए पनि विवेक र सत्य बोल्ने साहस खोस्न नसकिने उल्लेख गर्दै आफूलाई हटाइएको घटनाले आफ्नो अभियानलाई झन् स्पष्ट बनाएको बताएका छन्।

उनले अब आफ्नो अभियानलाई **‘तदर्थवादको अन्त्य र विधिको शासनको स्थापना’**तर्फ केन्द्रित गर्ने बताएका छन्। बन्द कोठाभित्र हुने निर्णयको अन्त्य गर्दै संस्थागत लोकतन्त्र स्थापना गर्ने, युवालाई नारामा होइन निर्णय प्रक्रियामै सहभागी गराउने तथा व्यक्ति केन्द्रित नेतृत्वको अन्त्य गरी स्वयंसेवक केन्द्रित रेडक्रस निर्माण गर्ने उनको घोषणा छ।

रहमानले वर्तमान तदर्थ संरचनामा देखिएका विधिगत, संस्थागत तथा सुशासनसम्बन्धी प्रश्नलाई तथ्य र प्रमाणसहित आम रेडक्रसकर्मी तथा सरोकारवालामाझ निरन्तर उठाइरहने बताएका छन्।उनले यसलाई व्यक्तिगत प्रतिशोध नभई संस्थाको भविष्यको लडाइँ भएको बताएका छन्।

‘रेडक्रस बचाऔँ, विधि बचाऔँ, स्वयंसेवकको सम्मान बचाऔँ र संस्थागत लोकतन्त्र पुनःस्थापित गरौँ’ भन्ने नारासहित उनले रेडक्रसको पुस्तान्तरण, रूपान्तरण र हस्तान्तरणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।मोहम्मद आयतुल्ला रहमान नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय सदस्य हुन्। उनले उक्त विज्ञप्ति २२ असोज २०८३ मा जारी गरेका हुन्।

 

रेडक्रस बचाऔँ!
विधि बचाऔँ!
स्वयंसेवकको सम्मान बचाऔँ!
र संस्थागत लोकतन्त्र पुनःस्थापित गरौँ!

मोहम्मद आयतुल्ला रहमान

पूर्व केन्द्रीय सदस्य
नेपाल रेडक्रस सोसाइटी

यो पनि पढ्नुहोस् हटाउनु भयो की: 

 

चार वर्षअघिको सरकारी राय उल्ट्याउँदै रेडक्रसमा अध्यादेशको तयारी : पर्दापछाडि कसको दबाब?

civil hospital
Hams Hospitals