एनपीएलको उपाधि पहिलोपटक सुदूरपश्चिम रोयल्सलाई, लुम्बिनीमाथि १० विकेटको ऐतिहासिक जित
वि.सं.२०८३ मंसिर ५ शनिवार
shares
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो।
तेस्रो प्रयासमा उपाधि जितेको सुदूरपश्चिमले फाइनलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो। यसअघि दुईपटक उपाधि जित्न असफल भएको सुदूरपश्चिमले यसपटक भने शानदार जितसहित एनपीएल ट्रफी उचाल्यो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो। सुदूरपश्चिमको जितमा जर्ज मन्से नायक बने। उनले ४९ बलमा १२ छक्का र ८ चौकाको मद्दतले अविजित १२५ रन बनाए। एनपीएल फाइनलमा शतक प्रहार गर्ने मन्से पहिलो खेलाडीसमेत बने।
उनलाई साथ दिएका विनोद भण्डारी ३० रनमा अविजित रहे। दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै लुम्बिनीका बलरलाई कुनै मौका दिएनन्।
सुदूरपश्चिमले पावरप्लेमा कुनै विकेट नगुमाई ६० रन जोड्दै जितको आधार तयार गरेको थियो। मन्सेले २८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४९ बलमै शतक प्रहार गरेका थिए। १० ओभरको समाप्तिमा सुदूरपश्चिमले बिना विकेटको क्षतिमा ९० रन बनाइसकेको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
लुम्बिनीको सुरुवात भने कमजोर रह्यो। पहिलो ओभरमा एक रन मात्रै जोडेको लुम्बिनीले २.१ ओभरमा आसिफ शेखको विकेट गुमाएको थियो। उनी चार बलमा एक रन बनाएर स्कट कुगलेइनको बलमा आउट भए।
त्यसपछि ब्याटिङमा आएका कप्तान रोहित पौडेल र डार्सी शर्टले इनिङ्स सम्हाल्ने प्रयास गरे। तर ५.३ ओभरमा डार्सी शर्ट १८ बलमा २१ रन बनाएर आउट भए। उनलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पभेलियन फर्काए।
पावरप्लेमा दुई विकेट गुमाएको लुम्बिनीले ३७ रन जोडेको थियो। त्यसपछि रोहित पौडेल र निरोशन डिकवेलाले इनिङ्स अघि बढाए। डिकवेला १७ बलमा २८ रन बनाएर थरिन्दु रत्नायकेको बलमा बोल्ड भए।
त्यसपछि दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। तर १४औँ ओभरमा रोहित पौडेल र दिलिप नाथबीच तालमेल नमिल्दा रोहित रनआउट भए। उनले ३१ बलमा ३० रन बनाएका थिए।
सन्दीप जोरा पाँच बलमा चार रन बनाएर आउट हुँदा लुम्बिनी थप दबाबमा परेको थियो। त्यसपछि आएका अलि शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमा दुई छक्का र दुई चौकासहित २४ रन जोडे। दिलिप नाथ ३९ रनमा अविजित रहे।
सुदूरपश्चिमका बलर स्कट कुगलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक–एक विकेट लिए।
उपाधिसँगै सुदूरपश्चिम रोयल्सले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ।
जर्ज मन्सेको अविजित शतक र कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्ने प्रदर्शनसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएललाई ऐतिहासिक जितका साथ टुंग्याएको छ।































