मेची भन्सारका ६ मध्ये ५ छोटी नाका बन्द — सीमावर्ती व्यापार सुस्त, पूर्वाधार अभावले प्रणाली धराशायी

414
shares

 

झापा । मेची भन्सार कार्यालय मातहत सञ्चालनमा रहेका छ वटा छोटी भन्सारमध्ये अहिले एउटा मात्र सक्रिय रहेको छ भने बाँकी पाँचवटा पूर्ण रूपमा बन्द अवस्थामा पुगेका छन्। सीमापार व्यापार सहजीकरण र राजस्व संकलनका लागि स्थापना गरिएका यी नाकाहरू निष्क्रिय हुँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ।

गौरीगन्ज–२ स्थित आठमौजा छोटी भन्सार मात्रै सञ्चालनमा रहेको भए पनि त्यहाँसमेत अपेक्षित व्यापारिक गतिविधि हुन नसकेको भन्सार कार्यालयले जनाएको छ। सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार अन्य नाकाबाट आयात–निर्यात ठप्पजस्तै भएपछि छोटी भन्सारहरू चल्न नसकेका हुन्।

बन्द अवस्थामा रहेका छोटी भन्सारहरूमा मेचीनगरका गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा र गौरीगन्जको महाभारा पर्छन्। ती स्थानहरूमा भवन भए पनि आवश्यक सेवा–सुविधा, क्वारेन्टाइन, प्राविधिक जाँच प्रणाली र जनशक्तिको अभावका कारण सञ्चालन सम्भव नभएको बताइएको छ।

पूर्वी प्रवेशद्वार काँकरभिट्टा नाका मा भने पूर्ण संरचनासहित मुख्य भन्सार कार्यालय सञ्चालनमा छ, जहाँ सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र आधुनिक जाँच कक्षहरू उपलब्ध छन्। तर अन्य नाकाहरूमा यस्ता आधारभूत संरचना नहुँदा व्यापार विस्तार हुन सकेको छैन।

मेचीनगर–४ स्थित बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिने यो नाका राणाकालदेखि सञ्चालनमा रहेको पुरानो सीमाबजार भए पनि अहिले उपेक्षाको शिकार बनेको छ। स्थानीय तहले आवश्यक सहयोग गर्न तयार रहेको जनाउँदै तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ।

विशेषज्ञहरूका अनुसार सीमापार भारतीय क्षेत्रमा ठूला बजारको अभाव, पूर्वाधार कमजोरी र सरकारी प्राथमिकताको कमीका कारण छोटी भन्सारहरू निष्क्रिय बन्दै गएका छन्। सशस्त्र प्रहरीले सुरक्षा दिँदै आए पनि आर्थिक गतिविधि नहुँदा ती नाकाहरू केवल औपचारिक संरचनामा सीमित भएका छन्।

छोटी भन्सारहरू बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा नकारात्मक असर परेको छ। सरोकारवालाहरूले सरकारसँग यस्ता नाकाहरू पुनः सञ्चालनमा ल्याई सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन माग गरेका छन्।

civil hospital
Hams Hospitals