पूर्वअर्थमन्त्री कार्कीसहित १३ जना र चिनियाँ कम्पनीविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा

396
shares

 

काठमाडौं । बहुचर्चित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणले अन्ततः कानुनी मोड लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १३ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार दायर गरेको अभियोगपत्रमा पूर्वसचिवहरू शंकर प्रसाद अधिकारी, केवल प्रसाद भण्डारी, सुरेश आचार्य लगायतलाई प्रतिवादी बनाइएको छ ।

अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबीच भएको मूल खरिद सम्झौताविपरीत ठेकेदारलाई अवैध रूपमा कर छुट दिइएको थियो । सोही निर्णयका कारण राज्यलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ नोक्सानी पुगेको दाबी गर्दै बराबर बिगो असुल गर्न माग गरिएको छ ।

मुद्दामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, आयोजना निर्देशक प्रदीप अधिकारी लगायत उच्च अधिकारीहरू पनि मुछिएका छन् ।

त्यसैगरी, कर्मचारीतर्फ इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, उपसचिव युवराज पाण्डे र शाखा अधिकृत उर्मिला भण्डारी लाई पनि प्रतिवादी बनाइएको छ ।

अख्तियारले चिनियाँ निर्माण कम्पनी China CAMC Engineering Co., Ltd.⁠� तथा कम्पनीका अध्यक्ष मि. वाङ बो र प्रोजेक्ट म्यानेजर मि. याङ झिगाङलाई समेत भ्रष्टाचार मुद्दामा तानेको छ ।

पोखरा विमानस्थल परियोजना सुरुदेखि नै लागत, ऋण, सञ्चालन क्षमता र ठेक्का प्रक्रियालाई लिएर विवादमा रहँदै आएको थियो । अब अख्तियारले उच्च राजनीतिक तहदेखि प्रशासनिक नेतृत्वसम्मलाई प्रतिवादी बनाएपछि यो प्रकरण नेपालको सबैभन्दा ठूलो पूर्वाधार भ्रष्टाचार काण्डमध्ये एकका रूपमा चर्चामा आएको छ ।

civil hospital
Hams Hospitals