पूर्व क्यान प्रमुख प्रदीप अधिकारीसहित ३ जनामाथि संगठित अपराधको मुद्दा
सिंहदरबार न्यूज
वि.सं.२०८३ वैशाख २९ मंगलवार
696 shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई आतङ्कवादी संगठनको नाम प्रयोग गर्दै ज्यान मार्ने धम्की दिने गिरोहविरुद्ध काठमाडौंमा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार यस प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसहित ३ जना तानिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले काभ्रेको तेमाल गाउँपालिका–१ घर भई हाल फिलिपिन्समा लुकीछिपी बस्दै आएका प्रकाश पाठक, झापाको बुद्धशान्ति गाउँपालिका–२ निवासी ताराप्रसाद खरेल र पूर्व क्यान महानिर्देशक अधिकारीविरुद्ध संगठित अपराध तथा आपराधिक धम्कीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जनाएको छ ।
प्रहरी अनुसन्धानअनुसार उनीहरूले ‘इजीएन’ नामको कथित आतङ्कवादी संगठनको नाम प्रयोग गर्दै अख्तियार प्रमुख राईलाई लगातार मानसिक दबाब दिने, राजीनामा माग्ने र नमाने ज्यानै लिने धम्की दिने कार्य गरेका थिए ।
उनीहरूले ह्वाट्सएप नम्बर, भिडिओ सन्देश तथा अन्य डिजिटल माध्यम प्रयोग गरेर धम्कीपूर्ण सामग्री पठाउँदै आएको प्रहरीको दाबी छ । स्रोतका अनुसार धम्कीको शैली योजनाबद्ध र संगठित प्रकृतिको देखिएपछि सुरक्षा निकायले यसलाई गम्भीर आपराधिक गतिविधिका रूपमा अनुसन्धान अघि बढाएको हो ।
घटनापछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने विदेशमा रहेका अभियुक्तलाई कानुनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय समन्वयसमेत सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार राज्यका संवैधानिक निकायका प्रमुखलाई लक्षित गरी गरिएको यस्तो गतिविधिलाई सामान्य रूपमा लिन नसकिने भएकाले अनुसन्धान थप विस्तार गरिएको छ ।