कर्मचारीहरुलाई दलको सदस्यता लिएदेखि चुनाव लड्नेसम्म प्रतिबन्ध, अटेर गरे सेवाबाटै हटाइने सरकारको कडा सन्देश
वि.सं.२०८३ वैशाख ३० बुधवार
shares
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट पूर्ण रूपमा टाढा रहन कडा निर्देशन जारी गर्दै अटेर गर्ने कर्मचारीलाई सेवाबाटै हटाइने चेतावनी दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचनामा निजामती कर्मचारी कुनै पनि राजनीतिक दल, भ्रातृ संगठन वा जनवर्गीय संगठनमा आबद्ध हुन नपाउने स्पष्ट उल्लेख गरिएको छ । मन्त्रालयले संविधान र प्रचलित कानुनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी संस्थाका रूपमा परिकल्पना गरेको स्मरण गराएको छ ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (ङ) उद्धृत गर्दै राजनीतिमा संलग्न कर्मचारीलाई “भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिने” कानुनी व्यवस्था रहेको चेतावनी दिएको हो ।
सूचनामा कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिन, राजनीतिक गतिविधिमा सक्रिय हुन, भ्रातृ संगठनमा आबद्ध हुन वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेदवार बन्न नपाइने स्पष्ट पारिएको छ । यस्ता गतिविधिमा संलग्न पाइए कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
शाखा अधिकृत विवेक विडारीद्वारा हस्ताक्षरित सूचनामा कर्मचारीहरूको राजनीतिक संलग्नताले सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै सम्पूर्ण निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिइएको छ ।



























