‘तेज’ तोरीकाे तेल गुणस्तरहीन : बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश
वि.सं.२०८३ जेठ १३ बुधवार
shares
काठमाडौँ । ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तर पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले आज सूचना जारी गर्दै बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएकाले उक्त उत्पादन बिक्री वितरण नगर्न तथा बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको जनाएको छ ।
विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० रहेको छ । उक्त उत्पादनको उत्पादन मिति २०८२ फागुन २८ तथा उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ ।
विश्लेषण गरिएका प्यारामिटरका आधारमा प्राप्त नमुना मापदण्डअनुसार नभेटिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित उत्पादकलाई आदेश जारी गरिएको विभागले जनाएको छ ।
उक्त तेल रुपन्देहीको सिद्धार्थ आयल इन्डष्ट्रिजले उत्पादन गरेको विभागले जनाएको छ ।





























