रास्वपा सांसद आशिका तामाङको विस्फोटक प्रतिक्रिया : “मलाई मात्रै निशाना बनाइयो”
वि.सं.२०८३ जेठ १३ बुधवार
shares
काठमाडौँ । रास्वपा सांसद तथा पूर्वसामाजिक अभियन्ता आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी छन् । आयोगले आफ्नो मानवीय कार्यलाई बेवास्ता गरी अभिव्यक्तिलाई मात्रै निशाना बनाएको उनको आरोप छ ।
सन् २०१८ देखि भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै तामाङले आफू सधैँ युवा पुस्ताको पीडा र आक्रोशको पक्षमा उभिएको बताएकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आयोगले मेरो नाम लेख्दा मैले अस्पताल पुगेर गोली लागेका घाइतेहरूको अवस्था बुझेको र पीडित परिवारको आँसु पुछेको मानवता देखेन, तर मेरो अभिव्यक्ति मात्र देख्यो ।’
आफूले कसैलाई हिंसा गर्न नउक्साएको र कुनै पनि आगजनी वा तोडफोडमा संलग्न नभएको तामाङको दावी छ ।
आफूले केवल अन्यायविरुद्ध बोलेको जिकिर गर्दै उनी भन्छिन्, ‘मैले निर्दोषमाथि गोली चलाएको छैन, केवल अन्यायविरुद्ध बोलेको हुँ । मेरो कुन अभिव्यक्ति वा गतिविधिले हिंसा भड्कायो ? त्यसको तथ्य सार्वजनिक गरियोस् ।’
विगतको सन्दर्भ उल्लेख गर्दै तामाङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा आफूलाई १८ दिन हिरासतमा राख्दा मानव अधिकार आयोग मौन बसेको भन्दै प्रश्न उठाएकी छन् ।
‘त्यो बेला मेरी छोरी जम्मा ३ वर्षकी थिइन् । मेरो र मेरो परिवारको पीडा र राज्यको अन्याय आयोगले किन देखेन ? त्यो बेला आयोग कुन दुलोमा थियो ?’ उनको आक्रोश छ ।
तामाङले आफ्नो हकमा हुने कुनै पनि अनुसन्धान निष्पक्ष हुनुपर्ने र आफूले भोगेका अन्यायको पनि हिसाब हुनुपर्ने माग गरेकी छन् । सत्यलाई दबाएर समाप्त पार्न नसकिने भन्दै उनले आफू जनताको पक्षमा बोल्न नछाड्ने दृढता व्यक्त गरेकी छन् ।





























