बालेनमाथि ओलीको कडा प्रहार : ‘नेपालले कसैको भूमि मिचेको छैन, राष्ट्रघाती अभिव्यक्ति स्वीकार्य हुँदैन’

2.2K
shares

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर तीव्र आक्रोश व्यक्त गरेका छन्। नेपालले पनि भारतको भूमि मिचेको हुनसक्ने आशयको प्रधानमन्त्रीको भनाइलाई उनले ‘राष्ट्रघाती’ भन्दै कडा शब्दमा अस्वीकार गरेका छन्।

बुधबार काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शाहलाई देश र राष्ट्रिय हितका विषयमा जथाभावी नबोल्न चेतावनी दिए। उनले नेपालले इतिहासभर कसैको एक इन्च भूमि पनि अतिक्रमण नगरेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको बताए।

“नेपालले कसैको एक इन्च जमिन पनि मिचेको छैन। प्रधानमन्त्रीले कसको हितमा यस्तो कुरा बोल्नुभयो ? यो देशद्रोही अभिव्यक्ति हो, यो मान्य हुन सक्दैन,” ओलीले भने।

सीमा विवादजस्तो संवेदनशील विषयमा तेस्रो पक्षलाई जोड्ने प्रयास कूटनीतिक रूपमा पनि गलत हुने उनको तर्क थियो। उनले छिमेकी राष्ट्रहरूबीच उत्पन्न हुने विवाद द्विपक्षीय संवादमार्फत समाधान गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीको अभिव्यक्तिलाई “अराजनीतिक र अकूटनीतिक” संज्ञा दिए।

ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै व्यक्तिगत टिप्पणीसमेत गरे। “नेपाल तपाईँको घर मात्रै होइन, तपाईँ जन्मिनुभन्दा धेरै अघिदेखिको देश हो नेपाल,” भन्दै उनले प्रधानमन्त्रीलाई राष्ट्रिय जिम्मेवारी र मर्यादाको ख्याल गर्न आग्रह गरे।

उनले सरकारको पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै राज्यका निकायहरू निष्पक्ष हुनुपर्ने धारणा पनि राखे। विशेषगरी नेपाली सेनाको भूमिकामाथि टिप्पणी गर्दै उनले सेना प्रधानमन्त्रीको पक्षमा र सुकुम्बासीको विपक्षमा देखिएको आरोप लगाए।

“सेना निस्पक्ष देखिएन,” ओलीले भने, “राज्यका निकायहरू कुनै व्यक्ति वा समूहको पक्षमा होइन, संविधान र कानुनको पक्षमा उभिनुपर्छ।”

ओलीको यो अभिव्यक्ति सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढ्दो राजनीतिक टकरावका बीच आएको हो। प्रधानमन्त्री शाहको सीमा सम्बन्धी भनाइलाई लिएर राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला ओलीको यो टिप्पणीले विवादलाई थप तातेको छ।

civil hospital
Hams Hospitals