लघुकथा : पालो

189
shares

“आज को पर्छ ?”

 

करेसाबारीमा छपक्कै तरकारी फलेका छन् | केही झुन्डिएका छन् त केही लत्रिएका छन् | करेला, घिरौँला, लौका, बोडी, फर्सी लगायतले बारी भरिएको छ | मलजल प्रशस्त पाएकाले सबै मौलाएका छन् | भालाकुसारी चलेकै बेला घिरौँला र करेला बिच विवाद चल्यो |

 

करेलाले कर्के नजरले भन्यो, “ओए तोरियाँ,त्यसै तुर्लुङ्ग झुन्डिएको छ, सित्तिनामको फलेका छन्, स्वादै छैन | एकदुई छाक खाए भने जिब्रो लोप्राउँछन् सबले | के छन् तेरा फाइदा ?” उसले चर्को आवाजले छड्के हान्यो

 

घिरौँलाले रिस थेग्न सकेन | ऊ पनि के कम सुरु भयो, “ केरे फेरि भन्त ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड भन्थे, हो रछ | मुखै बिग्रने तितेकरेलाले पनि बडो फुर्ती लगाउँने रहेछ |” ऊ रिसले आगो भयो

 

फेरि भुत्भुतायो, सम्झाउँनु पर्ने भयो होइन, ल सुन्, “मलाई खादा मान्छेको पाचनमा सुधार आउँछ जसले तौल नियन्त्रण, मुटुकलेजो, आँखालाई फाइदा हुन्छ | भिटामिन, खनिज,पानीको मात्रा प्रशस्त पाइन्छ अनि अम्लियपन हुदैन, बुझिस् |” उसले फिस्स हाँस्दै फाइदा बतायो

 

करेला रवाफिलो स्वरमा बोल्यो, “नमच्चिने पिङको सय झट्का भनेको यहीँ हो | अरूले तपाईं भन्नु कहाँ छ कहाँ, आँफै मपाईं ? खित्का छाडेर हाँस्यो | धेरै नै गुणी रहेछौँ हगि ! इन्द्रको अगाडी स्वर्गको बयान |” कटाक्ष गर्यो

 

घिरौँलालाई खपिनसक्नु भयो,सोध्यो | लल तिम्रा गुण सुनाऊ, केके रहेछन् ? करेलाले जुङ्गामा ताउ लगाउँदै बोल्यो, “ मत औषधि हो औषधि ! मधुमेह कम, रगतमा शुद्धता, हृदयको सुरक्षा,छालामा स्वस्थता, भिटामिन, खनिज प्रशस्त दिन्छु अनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछु,बुझ्यौ |” उसले बडो फुर्तीले कुरा टुङ्ग्यायो

 

कुराकानी चलिरहेकै बेला घरबेटीले करेलाको घाटी निमोठोर चुडेर लगिन् | सबै मौन भए अनि पर्याकपुर्लुक एकअर्कालाई हेरिरहे |

 

सबै प्रत्यक्ष नियाली रहेको लौकालाई असह्य भयो र मुख खोल्यो, “एकअर्काको अस्तित्व बुझ पालो सबैको आउँछ भन्ने थाहा हुँदाहुँदै पनि आखिर घमण्ड केका लागि किन हो ?” ऊ जङ्गियो

 

 

 

civil hospital
Hams Hospitals