‘रेड अलर्ट’पछि काठमाडौं प्रशासनको कडा चेतावनी : जोखिम मोलेर यात्रा नगर्नू, रातिको यात्रा झन् खतरनाक !

426
shares

 

 

काठमाडौं। मनसुनी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडकमार्गबाट काठमाडौं उपत्यकामा आवतजावत गर्ने सबै सवारीसाधन र यात्रुलाई उच्च सतर्कता अपनाउन कडा आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी गरिएको सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरिसकेको अवस्थामा सडकको वास्तविक अवस्था नबुझी यात्रा नगर्न स्पष्ट आग्रह गरिएको छ।

प्रशासनले काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिम सबै प्रवेश तथा बाहिरिने नाकाबाट सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी तथा यात्रुलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको छ।

विगतका वर्षमा रातिको समयमा आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्मरण गराउँदै प्रशासनले विशेषगरी भारी वर्षा हुने दिनमा रातिको यात्रा सकेसम्म टार्न आग्रह गरेको छ।

यात्रा सुरु गर्नुअघि सम्बन्धित प्रहरी प्रशासनबाट सडक सञ्चालनको अवस्था यकिन गर्न, सडक अवरुद्ध भए यात्रुलाई सुरक्षित स्थानमा राख्न, आवश्यक खाना र पानीको व्यवस्था मिलाउन तथा जोखिमपूर्ण क्षेत्रमा सवारी नरोक्न प्रशासनले निर्देशन दिएको छ।

सडक पूर्ण रूपमा सञ्चालनमा आएको आधिकारिक जानकारी प्राप्त भएपछि मात्रै यात्रा अघि बढाउन आग्रह गर्दै प्रशासनले आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बलका टोल–फ्रि नम्बर १००, १०३, १११४ र १२३४ मा तत्काल सम्पर्क गर्न सबैसँग अनुरोध गरेको छ।

civil hospital
Hams Hospitals