कुकुरको खाना’ भनेर अस्ट्रेलिया पठाउन खोजिएको कार्गोमा लाखौँको चुरोट बरामद, त्रिभुवन विमानस्थलमा तस्करी प्रयास विफल

273
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘डग च्यु (कुकुरले खाने खाना)’ को नाममा गैरकानुनी रूपमा अष्ट्रेलिया निर्यात गर्न खोजिएको ठूलो परिमाणको चुरोट प्रहरीले बरामद गरेको छ। विमानस्थलको कडा सुरक्षा निगरानी र संयुक्त जाँचका कारण तस्करीको प्रयास असफल भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ साउन ३ गते (आइतबार) पिक एभिएसन प्रालिमार्फत अष्ट्रेलिया पठाउन लागिएको ३५ वटा कार्टुन पोकाको कार्गो परीक्षणका क्रममा शंकास्पद सामग्री भेटिएको थियो। एउटा पोकोमा ‘डग च्यु’ उल्लेख गरिए पनि नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले एक्स–रे तथा विस्तृत परीक्षण गर्दा त्यसभित्र कागजातमा उल्लेख नगरिएको ठूलो परिमाणमा चुरोट फेला पारेको हो।

बरामद गरिएको चुरोट विभिन्न ब्रान्डका गरी ६८ बण्डल रहेको प्रहरीले जनाएको छ। यसमा भारतमा निर्मित क्लासिक डबल बस्ट ४ बण्डल, गोल्ड फ्लेक ३ बण्डल तथा शिखर आइस रुस ३१ बण्डल सहित अन्य सुर्तीजन्य सामग्री रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएको चुरोटको अनुमानित बजार मूल्य २ लाख ५७ हजार ४ सय रुपैयाँ रहेको छ।

बरामद गरिएको सुर्तीजन्य पदार्थ आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर लाई बुझाइएको छ।

विमानस्थल सुरक्षा कार्यालयले अवैध ओसारपसार, भन्सार छली तथा तस्करी नियन्त्रण गर्न कार्गो स्क्रिनिङ, सुरक्षा निगरानी र अनुसन्धानलाई अझ कडा बनाइने स्पष्ट गरेको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा सञ्जालमाथि अनुसन्धान जारी रहेको जनाएको छ।

civil hospital
Hams Hospitals