कविता:अदृश्यको खोज
वि.सं.२०८३ साउन ८ शुक्रवार
369
shares
shares
सोध्छु म आफैँलाई बारम्बार—
यो दृष्य जगतको अन्तर्यमा लुकेको
“यो के हो?”
सपना हो कि कुनै महासत्यको छाया?
माटोको शरीरमा अल्झिएको चेतनाको माया?
शून्यबाट उब्जिएर शून्यमै बिलाउने
समयको पानामा कोरिएको कथा हो?
या कसैको अनन्त लीलाको एउटा व्यथा हो?
दृश्यभित्र लुकेको अदृश्य शक्ति के हो?
शब्दभित्र छटपटाउने भावको मुक्ति के हो?
फूल फक्रिनुमा लुकेको त्यो मौन मुस्कुराहट,
रातको अँध्यारोमा धड्किने ब्रह्माण्डको आहट,
सोध्दै हिँड्छु म हरेक मोडमा—
विराम नभएको यो अनन्त यात्रा के हो?
हामी त केवल प्रश्न बोकेर बाँचिरहेका
अक्षरविहीन पानाहरू हौँ,
उत्तरको खोजीमा आफैँ हराइरहेका
क्षणिक गोरेटोका साना तरङ्गहरू हौँ।
बुझ्नु नै नबुझ्नु रहेछ यहाँ,
पाउनु नै गुमाउनु रहेछ।
‘यो के हो’ भन्नु नै अस्तित्वको नाम हो,
र यो खोज नै जीवनको अन्तिम विश्राम हो।





























