२ करोड २६ लाखको अवैध सम्पत्ति काण्डमा सडक डिभिजनका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा, पत्नी पनि तानिइन्

192
shares

काठमाडौं । सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको निष्कर्षसहित अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार चौधरीले २०६५ पुस ११ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ असार २९ गतेसम्मको अवधिमा कुल २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ वैधानिक आम्दानी गरेका थिए। तर सोही अवधिमा उनको खर्च तथा लगानी ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ पुगेको भेटिएको छ।

छानबिनका क्रममा आयभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ बढी खर्च तथा लगानी भएको देखिए पनि त्यसको कुनै वैधानिक स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ। यही आधारमा उक्त सम्पत्ति भ्रष्टाचारबाट आर्जन गरिएको ठहर गर्दै अदालतमा अभियोग दर्ता गरिएको हो।

अनुसन्धानका क्रममा अवैध रूपमा आर्जित रकम पत्नी अर्पना कुमारीको नाममा घर-जग्गा खरिद तथा अन्य लगानीमा प्रयोग भएको देखिएपछि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको छ।

अख्तियारले चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानासहित अवैध सम्पत्ति जफतको माग गरेको छ। साथै, वास्तविक सम्पत्ति लुकाएको तथा झूटो विवरण पेश गरेको अभियोगमा थप कानुनी सजायको समेत माग गरिएको छ।

सरकारी कर्मचारीले पदीय जिम्मेवारीको दुरुपयोग गरी अकुत सम्पत्ति जोडेको आरोपमा दायर गरिएको यो मुद्दाले सार्वजनिक निकायमा सुशासन र जवाफदेहितामाथि फेरि गम्भीर प्रश्न खडा गरेको छ।

civil hospital
Hams Hospitals