EPS आवेदकको चाप व्यवस्थापन गर्न राहदानी विभाग दुई सिफ्टमा सञ्चालन हुने
वि.सं.२०८३ साउन १३ बुधवार
shares
काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत आवेदन दिने सेवाग्राहीहरूको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले साउन १४ गतेदेखि २२ गतेसम्म विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ।
यही २०८३ असार २९ गतेदेखि नयाँ राहदानी प्रणाली लागू हुने क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभागले विशेष कार्यतालिका लागू गरेको जनाएको छ।
विभागका अनुसार साउन १४ गतेदेखि १८ गतेसम्म पहिलो सिफ्ट बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म तथा दोस्रो सिफ्ट दिउँसो २ बजेदेखि बेलुकी ९ बजेसम्म सञ्चालन हुनेछ। साथै सार्वजनिक बिदाका दिन शनिबार र आइतबार पनि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म सेवा प्रदान गरिनेछ।
राहदानी विभागले अतिरिक्त समयसम्म खटिएर सेवाग्राहीलाई निरन्तर सेवा उपलब्ध गराइरहेका सम्पूर्ण कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै प्रशासनबाट आवश्यकताअनुसार सूचना प्राप्त भएमा तोकिएको समयबाहेक पनि कार्यालयमा उपस्थित भई सेवा प्रवाहमा सहयोग गर्न कर्मचारीहरूलाई अनुरोध गरेको छ।
हाल दक्षिण कोरियाको EPS कार्यक्रमका लागि आवेदन दिने तयारीमा रहेका युवाहरूको संख्या बढेसँगै राहदानी बनाउन विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै विभागले सेवा समय विस्तार गरी दुई सिफ्टमा सेवा सञ्चालन गर्ने व्यवस्था गरेको हो।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
राहदानी विभागमा लाइन मिच्न प्रहरीलाई रकम ? सेवाग्राही भन्छन्– ‘पाँच सय दिएर अगाडि पुगेँ’





























