देशका विभिन्न जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

366
shares

काठमाडौं । धनुषा, दाङ, कपिलवस्तु र नवलपरासी (पूर्व) मा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। अधिकांश दुर्घटना सवारी साधन अनियन्त्रित हुँदा तथा ठक्करका कारण भएको प्रहरीले जनाएको छ।

धनुषाको कमला नगरपालिका–५ धरापट्टीमा लक्कर चोकबाट सघारातर्फ जाँदै गरेको स.१ त ४०८० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ३० वर्षीय दिपो झकरैतको घटनास्थलमै मृत्यु भएको छ। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ लुवाडवरामा रा.१ त १०४३ नम्बरको ट्याक्टरबाट लडेर ४९ वर्षीय राज घर्ती गम्भीर घाइते भएका थिए। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी दाङकै गढवा गाउँपालिका–५ चिसापानीमा लु.२ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय सागर कुमालको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरो चालक पनि प्रहरी नियन्त्रणमा छन्।

कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलमा ना.८ ख ६३१० नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४६ वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–१ मा गण्डकी प्रदेश ०४-००२ प २७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पाल्पाका ३४ वर्षीय निरज पन्तको उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

civil hospital
Hams Hospitals