दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी सीआईबीको फन्दामा
वि.सं.२०८३ साउन १५ शुक्रवार
shares
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्मार्ट टेलिकम तथा एनसेलसँग सम्बन्धित प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको छ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार भण्डारीलाई बिहीबार साँझ पक्राउ गरिएको हो। उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरिएको प्रहरीले जनाएको छ।
भण्डारी २०८० फागुन ६ गते नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए। उनको कार्यकालमा सरकारी नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारी हकहितमा क्षति पुर्याउने प्रयास भएको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
यही प्रकरणमा व्यवसायी उपेन्द्र महतोलाई पनि बिहीबार सीआईबीले सोधपुछका लागि बोलाएको थियो। सोधपुछपछि उनलाई घर फर्कन दिइएको छ।
यसअघि यही मुद्दामा सीआईबीले गत वैशाख २२ गते तत्कालीन स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीलाई पक्राउ गरेको थियो। सरकारी नियन्त्रणमा आइसकेको सम्पत्ति बदनियतपूर्वक लिलामी गर्न बैंकलाई मञ्जुरी दिएको आरोप उनीमाथि छ।
अनुसन्धानकै क्रममा लिलामी प्रक्रियामा संलग्न रहेको आरोपमा पलनी श्रेष्ठ र नरेन्द्र उलाकलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन, लिलामी प्रक्रिया र त्यसमा संलग्न व्यक्ति तथा संस्थाको भूमिकाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।































