Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाङ्गै जन्मिएँ, नाङ्गै जल्नेछु’ भन्दै पाण्डेको अमूर्त स्टाटस, सामाजिक सञ्जालमा व्यंग्य र कटाक्षको बाढी

1.5K
shares

 

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले सामाजिक सञ्जालमा लेखेको छोटो तर अमूर्त स्टाटसले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तरंग ल्याएको छ।

पाण्डेले राति आफ्नो सामाजिक सञ्जालमा ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्दै स्टाटस लेखेपछि त्यसको अर्थ र सन्देशलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन्।

तर पाण्डेको स्टाटसमा आएका अधिकांश प्रतिक्रियामा उनको अभिव्यक्तिको भावभन्दा पनि उनको राजनीतिक भूमिका, विगतका गतिविधि र सार्वजनिक छविमाथि व्यंग्य गरिएको देखिन्छ।

एक प्रयोगकर्ताले ‘के भयो आजै?’ भन्दै कटाक्ष गरेका छन्। अर्काले ‘राति किन जल्नुपर्यो, बिहान उज्यालो हुने होइन र माननीयज्यू?’ भन्दै व्यंग्य गरेका छन्।

त्यस्तै, अर्का प्रयोगकर्ताले पाण्डेलाई लक्षित गर्दै ‘तपाईंलाई त सुकुम्बासीले गाड्ने कुरा पो गर्दै थिए, कता जल्ने भन्नुभा’ माननीयज्यू?’ भन्दै टिप्पणी गरेका छन्।

केही प्रयोगकर्ताले भने पाण्डेको अभिव्यक्तिलाई समर्थन गर्दै ‘साह्रै राम्रो कुरा’ र ‘तीतो यथार्थ’ भन्दै प्रतिक्रिया दिएका छन्।

पाण्डेको राजनीतिक भूमिकामाथि प्रश्न उठाउनेहरू पनि उत्तिकै देखिएका छन्। एक प्रयोगकर्ताले पदभन्दा प्रतिष्ठा ठूलो हुने भन्दै जनताको काममा केन्द्रित हुन सुझाव दिएका छन्। अर्का प्रयोगकर्ताले पाण्डेको स्टाटसकै शब्द समातेर ‘देश जलायौ’ भन्दै राजनीतिक व्यंग्य गरेका छन्।

पाण्डेको यो अभिव्यक्ति उनको विगतको राजनीतिक भूमिकासँग जोडेर हेर्ने प्रयाससमेत सामाजिक सञ्जालमा भएको छ। उनी विगतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यकालमा महानगर प्रहरी प्रमुखको जिम्मेवारीमा थिए। त्यसबेला पाण्डेले सार्वजनिक रूपमा आफूलाई ‘बालेनको सिपाही’ का रूपमा प्रस्तुत गर्ने गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो रात सामाजिक सञ्जालमा लेखेको अमूर्त प्रकृतिको स्टाटसलाई लिएर आलोचना भइरहेका बेला पाण्डेले पनि मध्यराततिर त्यस्तै प्रकृतिको छोटो र अर्थ खुलाउन कठिन स्टाटस लेखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले दुवै अभिव्यक्तिलाई जोडेर टिप्पणी गरेका छन्।

पाण्डेको स्टाटसमा आएका प्रतिक्रियाले एउटा फरक राजनीतिक सन्देशसमेत देखाएको छ—जनप्रतिनिधिका सामाजिक सञ्जाल अभिव्यक्तिलाई नागरिकले अब केवल व्यक्तिगत अभिव्यक्तिका रूपमा मात्र नलिएर उनीहरूको राजनीतिक व्यवहार र सार्वजनिक भूमिकासँग समेत जोडेर मूल्यांकन गर्न थालेका छन्।

छोटो स्टाटस, तर लामो बहस। पाण्डेको ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’ भन्ने अभिव्यक्तिले सामाजिक सञ्जालमा यही कारण राजनीतिक व्यंग्य, प्रश्न र समर्थनको मिश्रित बहस जन्माएको छ।

civil hospital
Hams Hospitals