१८औं नाडा अटो शो २०२६ : गाडी मात्र होइन, अटोमोबाइल उद्योगको सम्पूर्ण संसार
वि.सं.२०८३ भदौ ७ आइतवार
shares
काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता भने गाडी किनेपछि त्यसलाई वर्षौंसम्म चलाउन आवश्यक पर्ने सबै कुरा हेर्न पाइनेछ ।
भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अनुसार प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन् ।यसपटकको अटो शोमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्राण्ड सहभागी हुँदैछन् । विभिन्न मुलुकका सवारी ब्राण्ड एउटै छानामुनि उपस्थित हुने भएकाले उपभोक्ताले आफ्नो आवश्यकता, बजेट र प्रविधिअनुसार विभिन्न विकल्पको प्रत्यक्ष तुलना गर्न सक्नेछन् ।
तर अटो शोको आकर्षण सवारीसाधनमा मात्र सीमित छैन ।प्रदर्शनी स्थलमा रहने करिब ७० कम्पनीले प्रत्यक्ष रूपमा चलाएर लैजान मिल्ने सवारीसाधन बिक्री गर्दैनन् । उनीहरूले गाडी चलाउन आवश्यक पर्ने टायर, ब्याट्री, इन्जिन आयल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारीसाधनका चार्जिङ उपकरण लगायतका सामग्री तथा प्रविधि प्रदर्शन गर्नेछन् ।
त्यसैगरी, करिब १० बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी पनि प्रदर्शनीमा सहभागी हुनेछन् । उनीहरूले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीसाधन खरिदका लागि लक्षित वित्तीय योजनाबारे जानकारी दिनेछन् ।यसले अटो शोको दायरा गाडी हेर्ने र मूल्य बुझ्नेभन्दा निकै फराकिलो बनाएको छ । गाडी खरिद गर्ने उपभोक्ताले गाडी किनेपछि आवश्यक पर्ने वित्तीय सेवा, बीमा, स्पेयर पार्ट्स, मर्मतसम्भारका उपकरण, टायर, ब्याट्री तथा चार्जिङ पूर्वाधारबारे समेत एउटै स्थानबाट जानकारी लिन सक्नेछन् ।
अटोमोबाइल उद्योगको यही हिस्सा नेपाली उपभोक्ताको दैनिक जीवनसँग वर्षौंसम्म जोडिन्छ । तर सवारीसाधन बिक्री गर्ने सोरुमको तुलनामा गाडीलाई लामो समयसम्म सञ्चालनमा राख्ने उद्योगले सार्वजनिक रूपमा आफ्ना उत्पादन तथा प्रविधि प्रदर्शन गर्ने अवसर कमै पाउने गरेको छ ।गाडी छनोट गर्न उपभोक्ताले केही हप्ता खर्च गर्न सक्छन् । तर खरिद गरेको सवारीसाधनसँग उनीहरूको सम्बन्ध त्यसपछि पनि वर्षौंसम्म कायम रहन्छ । गाडी किनेपछि वर्कसप, बैंक, बीमा कम्पनी, टायर पसल, स्पेयर पार्ट्स व्यवसायी र चार्जिङ स्टेसनसँगको सम्बन्ध सुरु हुन्छ ।
यही पक्षलाई ध्यानमा राख्दै यसपटकको प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण लगायत छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ । यसबाट उपभोक्ताले गाडी खरिदसम्बन्धी निर्णयसँगै त्यसको सञ्चालन र मर्मतसम्भारसँग जोडिएका विषयमा पनि जानकारी लिन सक्ने आयोजकको अपेक्षा छ ।
१८औं नाडा अटो शोमा सहभागी सवारी ब्राण्डको भौगोलिक विविधता पनि उल्लेखनीय छ ।प्रदर्शनीमा युरोपेली इन्जिनियरिङको प्रतिनिधित्व गर्ने स्कोडा, मलेसियाको राष्ट्रिय ब्राण्ड प्रोटोन, चिनियाँ अटोमोबाइल निर्माता चेरी अन्तर्गतका ओमोडा तथा जेकु तथा जीडब्ल्यूएम लगायतका ब्राण्ड सहभागी हुँदैछन् ।
त्यसैगरी जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका विभिन्न सवारीसाधन एकअर्काबाट केही पाइला टाढा प्रदर्शित हुनेछन् । यसले नेपाली बजारमा पछिल्ला वर्षमा बढ्दै गएको ब्राण्ड र प्रविधिको विविधतालाई समेत प्रतिबिम्बित गर्नेछ ।विशेषगरी विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै नेपालमा नयाँ ब्राण्ड तथा नयाँ प्रविधिका सवारीसाधनको प्रवेश बढिरहेको अवस्थामा यसपटकको अटो शो उपभोक्ताका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।
अटो शोमा विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीलाई लक्षित गर्दै ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन निर्माण गरिएको छ ।यसबाट नेपालमा उत्पादन, एसेम्बली तथा अटोमोबाइलसँग सम्बन्धित स्थानीय उद्योगको सम्भावना र विकासलाई समेत प्रदर्शनीमा स्थान दिइनेछ ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार अटो शोको अर्थ केवल गाडीले भरिएको प्रदर्शनीस्थल होइन ।
उनले भने, “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ । तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ । त्यो उद्योग पनि देखिनुपर्छ ।”
नेपालको अटोमोबाइल उद्योगको विकाससँगै अटो शोको आकार पनि उल्लेख्य रूपमा विस्तार भएको छ ।करिब पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगसम्बन्धी प्रदर्शनी एउटा कोठामै सीमित हुने अवस्था थियो । अहिले भने त्यसलाई करिब तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्ने अवस्था आएको छ ।
यो विस्तार केवल नेपालमा सवारीसाधनको संख्या बढेको कारण मात्र नभई त्यससँग जोडिएको स्पेयर पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, बीमा, बैंकिङ, ग्यारेज उपकरण, डिजिटल प्रविधि, टेलिमेटिक्स तथा विद्युतीय सवारीसाधनको चार्जिङ पूर्वाधार लगायतका क्षेत्र विस्तार हुँदै गएको परिणाम पनि हो ।भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औं नाडा अटो शोले यही विस्तारित अटोमोबाइल इकोसिस्टमलाई एउटै प्रदर्शनीस्थलमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
यस अर्थमा यसपटकको अटो शो उपभोक्ताका लागि नयाँ गाडी हेर्ने मात्र नभई गाडी किनिसकेपछि आउने दशकलाई कसरी सहज, सुरक्षित र व्यवस्थित बनाउने भन्ने जानकारी प्राप्त गर्ने अवसरका रूपमा समेत रहने आयोजकको विश्वास छ ।
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु, हेर्नुहोस् फोटो फिचरमा






























