मेडिसिटीको उपचारमाथि कार्कीको गम्भीर प्रश्न : ‘भाइरल ज्वरो’ भन्दै लाखौँको परीक्षण, रोग पहिचान गर्न किन चुक्यो अस्पताल?

24
shares
Nabil bank

काठमाडौं । चर्चित अभिनेता विपिन कार्कीले आफ्नी जेठी छोरीको गम्भीर स्वास्थ्य समस्याको उपचारका क्रममा महँगो दाबी गरिएको मेडिसिटी अस्पतालमा भोगेको अनुभव सार्वजनिक गरेपछि नेपालको निजी स्वास्थ्य क्षेत्रको उपचार प्रणाली, परीक्षणको नाममा हुने खर्च र रोग पहिचानको क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।

कार्कीका अनुसार करिब तीन–चार महिनाअघि उनकी जेठी छोरी अचानक बिरामी परिन्। शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका कोषिकामाथि आक्रमण गर्ने जटिल अटोइम्युन रोग Juvenile Dermatomyositis (JDM) बाट उनी पीडित रहेकी थिइन्।तर, कार्कीको दाबीअनुसार प्रारम्भिक उपचारका क्रममा मेडिसिटी अस्पतालले छोरीको वास्तविक रोग पहिचान गर्न सकेन। पटक–पटक ठूलो रकम खर्च हुने परीक्षण गरिए पनि उनलाई ‘भाइरल ज्वरो’ भएको भन्दै सामान्य औषधि, सिटामोललगायतको उपचारमा सीमित गरिएको उनको भनाइ छ।

‘एकैपटक लाखौँ रुपैयाँको परीक्षण गराउने, फेरि त्यही प्रक्रिया दोहोर्‍याउने तर रोग के हो भन्ने पत्ता नलाग्ने अवस्था आयो,’ कार्कीले आफ्नो अनुभव सुनाउँदै भनेका छन्।उनका अनुसार उपचारका क्रममा आर्थिक भार बढ्दै गए पनि छोरीको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार देखिएन। अस्पतालमा गरिएका परीक्षण र उपचारबाट समस्या समाधान नभएपछि उनी आफैँ रोगबारे अध्ययन गर्न र अन्य चिकित्सकसँग परामर्श लिन बाध्य भए।

कार्की आफू पनि मेडिकल क्षेत्रसँग जोडिएको पृष्ठभूमि भएकाले छोरीको अवस्थाबारे थप अध्ययन गर्न थालेको बताउँछन्। त्यस क्रममा अर्को चिकित्सकको सुझाव तथा आफ्नै खोजीपछि उनी बालरोग विशेषज्ञ डा. धर्मागत भट्टराईसम्म पुगे।कार्कीका अनुसार डा. भट्टराईले छोरीलाई हेरेपछि नै उनको वास्तविक स्वास्थ्य समस्याप्रति शंका गर्दै रोग पहिचानको बाटो खोले। त्यसपछि भएको उपचारबाट छोरीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको भनाइ छ।

डा. भट्टराईलाई भेटेपछि आफूमा चिकित्सकप्रतिको धारणा नै परिवर्तन भएको कार्कीले बताएका छन्।‘डा. धर्मागत भट्टराईलाई भेटेपछि डाक्टरहरू साँच्चै भगवान् हुन्छन् भन्ने लाग्यो। उहाँलाई सम्मान मात्र होइन, उहाँले त मेरो छोरी नै फिर्ता दिनुभयो,’ कार्कीले भावुक हुँदै भनेका छन्।

कार्कीको अनुभवले नेपालको निजी स्वास्थ्य क्षेत्रमा एउटा गम्भीर प्रश्न उठाएको छ—महँगो अस्पतालमा उपचार गराउन सक्ने आर्थिक क्षमता हुनु मात्रै पर्याप्त हो कि सही समयमा सही रोग पहिचान गर्ने दक्षता पनि त्यत्तिकै आवश्यक छ?अस्पतालमा महँगा परीक्षण गरिए पनि जटिल अटोइम्युन रोग पहिचान हुन नसक्नुले स्वास्थ्य परीक्षण प्रणालीको प्रभावकारिता र चिकित्सकीय समन्वयमाथि प्रश्न उठाएको छ।

यद्यपि कार्कीले सार्वजनिक रूपमा सुनाएको अनुभव उनको व्यक्तिगत दाबी हो। मेडिसिटी अस्पतालको पक्ष, उक्त अवधिमा गरिएको परीक्षणको वास्तविक विवरण, चिकित्सकीय रिपोर्ट तथा अस्पतालले गरेको उपचार प्रोटोकल सार्वजनिक रूपमा परीक्षण नगरी अस्पतालले जानाजानी गलत उपचार गरेको निष्कर्षमा पुग्न सकिँदैन।तर, बिरामीको रोग पहिचानमा भएको ढिलाइ, दोहोरिएका परीक्षण र उपचार खर्चको औचित्यबारे भने सम्बन्धित अस्पतालले स्पष्ट पार्नुपर्ने प्रश्न उठ्छ।

 

JDM जस्तो अटोइम्युन रोग सामान्य भाइरल ज्वरोसँग भ्रमित हुन सक्ने भए पनि त्यसको समयमै पहिचान र विशेषज्ञ उपचार महत्वपूर्ण मानिन्छ।कार्कीको भनाइअनुसार यदि अर्को चिकित्सकसम्म पुग्न ढिलाइ भएको भए छोरीको अवस्था थप जटिल बन्न सक्ने जोखिम थियो।यही कारण उनको अनुभव एउटा परिवारको पीडामा सीमित नरही नेपालको स्वास्थ्य प्रणालीका लागि गम्भीर चेतावनी बन्न पुगेको छ।

बिरामीले अस्पतालमा पैसा तिरेपछि परीक्षणको थुप्रो पाउने हो कि सही निदान र उपचार पाउने हो?यो प्रश्न अहिले निजी अस्पतालमाथि मात्र होइन, समग्र स्वास्थ्य शिक्षा र चिकित्सकीय प्रणालीमाथि पनि उठेको छ।

 

कार्कीले डा. भट्टराईसँगको कुराकानीका क्रममा नेपालमा अटोइम्युन रोगसम्बन्धी अध्ययन–अध्यापनको अवस्थाबारे आफूले जानकारी पाएको बताएका छन्।उनका अनुसार डा. भट्टराईले नेपालमा अटोइम्युन प्रणालीबारे निःशुल्क अध्यापन गराउने प्रयास गरे पनि आवश्यक संस्थागत सहयोग नपाएको गुनासो गरेका थिए।यही प्रसंगमा कार्कीले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायलाई सार्वजनिक प्रश्न गरेका छन्—

‘नेपालमा अटोइम्युन सिस्टमका बारेमा किन पढाइ हुँदैन?’नेपालमा अटोइम्युन रोगसम्बन्धी विशेषज्ञता, अनुसन्धान र चिकित्सकीय तालिम पर्याप्त नभए बिरामीहरू रोग पहिचानकै लागि विदेश धाउनुपर्ने वा पटक–पटक फरक चिकित्सककहाँ पुग्नुपर्ने अवस्था आउन सक्छ।

 

एक अन्तर्वार्ताका क्रममा आमाको तस्बिर देखाइँदा कार्की भावुक बने। ‘भो, यो तस्बिर नदेखाउनुहोस्, म हेर्न सक्दिनँ’ भन्दै उनी केहीबेर सम्हालिन सकेनन्।त्यसपछि छोरीहरूको तस्बिर देखाउँदा पनि उनी भावुक बने। छोरीको गम्भीर बिरामी र उपचारका क्रममा आफूले भोगेको पीडा सम्झँदा उनको भावुकता थप गहिरिएको देखिन्छ।छोरीको स्वास्थ्यमा सुधार आएपछि भने उनको अनुहारमा राहत देखिन्छ।कार्कीका अनुसार अहिले छोरी करिब–करिब पूर्ण रूपमा निको हुने अवस्थामा पुगेकी छन्।

उपचारका क्रममा भेटिएका डा. धर्मागत भट्टराईप्रति कार्कीले विशेष आभार व्यक्त गरेका छन्।उनका अनुसार डा. भट्टराईसँग चिकित्सक र बिरामीको सम्बन्धभन्दा माथि उठेर आत्मीय सम्बन्ध बनेको छ।‘डाक्टर साब् त मेरो यतिबेला साथी हुनुभएको छ। म भएको ठाउँमा हजुर आउने होइन, मै घर आउँछु भन्नुहुन्छ,’ कार्कीले चिकित्सकको आत्मीय व्यवहार सम्झँदै भनेका छन्।

civil hospital
Hams Hospitals