प्रभु बैंकका प्रमुखका पारापाराको पुर्पुरो
वि.सं.२०८३ असोज २२ बिहीवार
shares
काठमाडौं । प्रभु बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र वर्तमान सीईओ सुमन शर्मा दुवै अलगअलग कानुनी प्रकरणमा जोडिएका छन् । बैंकको नेतृत्वमा रहेका दुई सीईओ फरकफरक मुद्दामा कानुनी प्रक्रियामा आएपछि प्रभु बैंकको नेतृत्वमा प्रश्न उठेको छ ।
लामो समय प्रभु बैंकको सीईओ रहेका अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शेरचनविरुद्ध बैंकलाई प्राप्त हुनुपर्ने रकम र कर्जा प्रवाहसम्बन्धी विषयमा आरोप लगाइएको छ। अदालतको आदेश भने मुद्दाको अन्तिम फैसला होइन ।
शेरचनविरुद्ध अनुसन्धान अघि बढेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो । राष्ट्र बैंकको प्रतिवेदनका आधारमा बैंकिङ कसुरसम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको थियो ।
शेरचनपछि प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका थिए। बैंक सञ्चालक समितिले २०८२ माघ २० गतेदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गरेको थियो । त्यसअघि शेरचन निलम्बनमा परेपछि निरज लम्सालले कामु सीईओको जिम्मेवारी सम्हालेका थिए ।

तर, शर्मा पनि अहिले कानुनी प्रक्रियामा आएका छन् । उनीविरुद्ध तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदाको कर्जा कारोबारसँग सम्बन्धित विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको विवरण सार्वजनिक भएको छ । अदालतले शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा तारेखमा राख्ने आदेश दिएको छ ।
यसरी प्रभु बैंकको नेतृत्वमा रहेका पूर्व र वर्तमान सीईओ फरक–फरक मुद्दामा कानुनी प्रक्रियामा आएका छन्। घटनाक्रमले बैंकको नेतृत्व, कर्मचारीसम्बन्धी आन्तरिक व्यवस्था र संस्थागत सुशासनबारे समेत चासो बढाएको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
अघिल्ला सीईओ बर्खास्तमा परेको प्रभु बैंकका हालका सीईओ शर्माविरुद्ध पनि मुद्दा परेपछि थप रणनीति बन्दै






























