चाडबाडमा समेत माछामासु खान डराउनुपर्ने अवस्था, बजार अनुगमन शून्य !

232
shares
Nabil bank

चाडपर्वमा माछामासुको खपत अत्यधिक हुन्छ । बडा दशैं शुरु भएसँगै काठमाडा्रैं उपत्यकासहित देशभरिका माछामासु पसलहरुमा भीडभाड लाग्न थालेको छ । दशैंमा वर्षभरि माछामासु नखाएकाहरुले समेत खान्छन् । विडम्बना, यही माछामासुले उनीहरु रोगी बनिरहेका छन् । दीर्घ रोगको सिकार भइरहेका छन् । व्यापारीहरुले सडेका, बिग्रेका वा महिनौं दिन बासी माछा मासु बेचिरहेका छन् ।

सरकारी निकायहरु भने आँखामा पट्टी बाँधेर बसिरहेका छन् । कहिकतै माछामासु पसलहरुको अनुगमन भएको देखिँदैन । यसले एकातिर मनलाग्दी मूल्य असुल्ने प्रवृत्ति हावी भएको छ भने अर्कोतिर गुणस्तरहीन अथवा बिग्रेका माछामासु बेचेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गरिँदैछ । काठमाडौंको नयाँ बानेश्वरस्थित अनामनगर जाने साइडतर्फ थुप्रै माछा पसल छन् ।

त्यहाँ विभिन्न थरीका माछा पाइन्छन्, जसको मूल्य चार सयदेखि ११ सय रुपैयाँसम्म छ । रोचक कुरा चाँहि एउटा पसलमा त्यही माछा किलोको पाँच सय पर्दा अर्को पसलमा सात–आठ सय रुपैयाँ छ । अनि वास्तविक मूल्य कुन हो त ? अर्कोतर्फ, जिउँदो र मरेका दुवै माछा बेच्न राखिएको हुन्छ । कसैले जिउँदो माछा लिएर जान्छन् त कसैले मरेको । तर, मरेका माछा कहिले मारिएको हो ? न लेखिएको हुन्छ न पसलले नै भन्छन् ।

महिनौ दिनअघि मारिएका माछा विभिन्न विषादी हालेर बेच्न गरिएको छ । यस्ता माछा खाँदा मानिसको शरीरमा एकदमै हानि पुग्छ । क्यान्सरजस्ता दीघै रोग निम्तिन्छ । यद्यपि, सरकारी निकायहरु बजार अनुगमन गर्दैनन् । माछा पसलहरुमा मारेर राखिएका माछा कहिले मारिएको हो ? चेकजाँच गरिँदैन ।

खसी, बोका, राँगा, कुखुरालगायतको मासु बेच्न पसलहरुको अवस्था पनि उस्तै छ । मरेका कुखुरा बेचिन्छ । खसीको भनेर बोकाको मासु बेचिन्छ । जबकी पैसा चाँहि उति नै लिइन्छ । सर्वसाधारणले व्यापारीले भनेजति मूल्य तिरेरसमेत गुणस्तरीय खानेकुरा खान पाइरहेका छैनन् । उनीहरुको पैसासँगै स्वास्थ्यसमेत जोखिममा परिरहेको छ ।दशैं लागेसँगै भक्तपुरको सल्लाघारी तीनकुने चौरमा विभिन्न जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा, भेडा ल्याएर बेच्न राखिएको छ । जिउँदो पशु वा काटेर मासु बेचिन्छ । तर, च्याङ्ग्रा भनेर पाठी च्याङ्ग्रा वा भेडाको मासु बेचिएको उपभोक्ताको गुनासो छ । पैसा चाँहि किलोकै २६ सयदेखि २८ सयसम्म लिइन्छ ।

अहिले बजारमा राँगा र बङ्गुरको मासु किलोको सात सयदेखि ९ सय रुपैयाँ छ । यत्रो पैसा असुलेर व्यापारीहरु राँगाको मासु भन्दै भैंसी र बङ्गुरको भनी सुँगुरको मासु बेच्छन् । कुखुराको मासु किलोको साढे चार सयदेखि पाँच सय रुपैयाँ छ । फर्ममा मरेका वा हप्तौं दिन फिजमा राखेका कुखुरा बेचिन्छ । खसीको मासु १६ सयदेखि १९ सय रुपैयाँ किलो छ ।

तर, खसीको मासु भनेर बाख्रा, बोकाको मासु बेचिन्छ । उपत्यकासहित देशभरिका मासु पसलहरुमा यस्तो गरिन्छ । उपभोक्तासँग चर्को शुल्क असुलेर मासु चाँहि एउटाको भनेर अर्कोको बेच्ने वा बिगेका, मरेका बेच्ने गरिएको छ । केही दिनअघि सरकारी निकायद्धारा गरिएकै बजार अनुगमनका क्रममा कुकुरको मासुसमेत बेचिएको भेटिएको थियो । यो त एउटा पसलको मात्र कुरा रह्यो ।

देशभरि मासु पसल छन् । अनि कति व्यापारीले कुकुरको मासु बेचिरहेका होलान् ? मरेका, महिनौं दिन बासी मासु बेचिरहेका होला ? चर्को मूल्य असुलिरहेका होलान् ? सरकारी निकायहरु अनुगमन गर्दैनन् । उपभोक्ता व्यापारीले भनेजति शुल्क तिरेर मासु किन्न बाध्य छन् । तैपनि उनीहरुले राम्रो मासु पाउँदैनन् । वर्ष दिनमा एक पटक बल्लतल्ल पैसा जुटाएर माछामासु खाँदा उल्टै अस्पताल भर्ना हुन पुग्छन् ।

यो अवस्था कहिलेसम्म ? कहिलेसम्म व्यापारीहरुले आफ्नो स्वार्थका निम्ति सर्वसाधारणको ज्यानमाथि खेलबाड गरिरहने र सरकार सुतेर बस्ने ? अब त उठ सरकार । हरेक वर्ष सर्वसाधारणका लागि चाडपर्व दशा बन्ने गर्छ । एकातर्फ महँगीले ढाड सेकिन्छ, अर्कोतर्फ यस्ता खानेकुरा खाँदा रोगी बन्नुपर्छ । बजारको अवस्था बयान गरिसाध्य छैन ।
हरेक सामान, वस्तुमा लुटधन्दा छ । माछामासु नखानेले चाडपर्वमा दुध, दही, पनिरलगायत खान्छन् । यसमा पनि अनेकौं मिसावट गरिएको हुन्छ । दूध र दही अनेकौं पाउडर र केमिकल हालेर उत्पादन गर्न थालिएको छ । पनिर पनि दुधबाट नबनाई अरुकै बनाएर बेचिएको पाइन्छ भने घिउमा पिठो मिसाइन्छ पैसा चाँहि त्यति नै लिइन्छ ।

हाल बजारमा दुध प्रतिलिटर डेढ सय रुपैयाँसम्म छ । दही पनि अढाई सय रुपैयाँसम्म छ । मही नै सय रुपैयाँ लिटर छ । घिउ किलोको एक हजारदेखि पन्ध्र सय रुपैयाँसम्म पर्छ । पनिर त पाउकै अढाई सयदेखि चार सय रुपैयाँसम्म छ । सर्वसाधारण यत्रो पैसा तिरेर दही, दूध, घिउ, पनिर खान्छन् । यसले शरीरमा तागत हुने विश्वास गरिन्छ । दुर्भाग्य, पछिल्लो समय यीनै खानेकुराका कारण मानिसहरु अनेकौं रोगको सिकार बन्नुपरेको छ ।

सल्लाघारी तीनकुने चौरमा मेला लागेको छ । त्यहाँ मःम, चाउमिनलगायत अनेकौं खानेकुरा बेच्न राखिएको छ । त्यो खानेकुरा बाहिरबाट हेर्दा जतिकै राम्रो भेटिन्छ, खाएपछि स्वास्थ्यमा त्यत्तिकै हानि पुग्ने उपभोक्ताहरु बताउँछन् । मःम खाएपछि एक उपभोक्ताले भने–‘खाइहालियो तर कस्तो गन्हाउने रहेछ । वान्ता नै आउलाजस्तो भयो ।’

देशभरिका मःम, चाउमिन पसलहरुमा बासी खानेकुरा त बेचिन्छ नै सँगै मःममा कुकुरको मासुसमेत हालिएको पाइन्छ । दुई दशकअघि कोटेश्वरस्थित एक मःम पसलमा कुकुरको मासु हालेर मःम बनाउने गरिएको पाइएको थियो । यदि सरकारी निकायहरुले अहिलेपनि बजार अनुगमन गर्ने हो भने अधिकांश मःम पसलमा यस्तो पाइनेछ ।

हड्डी खियाउने वा अनेकौं केमिकल मिसाइएको रंग हालेर चटपटे, पानीपुरी बनाउने गरिन्छ । पेय पदार्थ अत्यधिक चिनी, रंग र केमिकल हालेर बनाइन्छ । घरेलु मदिरा पनि युरिया मलसहित पुराना जुत्ता, कपडा, हड्डीलगायत प्रयोग गरेर बनाइन्छ । यस्ता खानेकुरा वा पेयपदार्थको सेवनको एकातिर पैसा त खेर जान्छ नै अर्कोतर्फ रोगीसमेत बन्नुपर्छ । व्यापारी वा उद्योगीहरुले आफ्नो लाभका निम्ति सर्वसाधारणको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका छन् ।

जनता प्रतिदिनप्रति रोगी बन्दै गएका छन् । चाडपर्वका बेला समेत माछामासु खान डराउनुपर्ने अवस्था छ । तैपनि सरकार बजार अनुगमन गर्दैन ? जनताको स्वास्थ्यमाथि जानाजान खेलबाड गर्ने व्यापारीहरुलाई कारबाही गर्दैन, किन ? कि बालेन सरकार पनि व्यापारीहरुसँग डराएको छ हो ? यदि सरकारलाई जनताको ख्याल छ भने बजार अनुगमन गरियोस् । सर्वसाधारणलाई लुट्ने र रोगी बनाउने व्यापारीहरुमाथि कडा कारबाही गरियोस् ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x