नोट बिगार्ने क्रम जारी, सरकार र जनता दुवैको लापरवाही !
वि.सं.२०८३ कात्तिक १ आइतवार
shares
नोट राज्यको सम्पत्ति हो । राज्यले पैसा खर्च गरेर नोट छापेको हुन्छ । तर, त्यो पैसाको अलिकति पनि ख्याल गरिएको पाइँदैन । बैंकले होस् या व्यक्तिले नोटको सही प्रयोग गर्दैनन् । नोट कुचाएर खल्तीमा हाल्ने, रंग लगाउने, कोर्ने लगायतका कार्य विगतदेखि हुँदै आएको छ । नोट बिगार्नेलाई राज्यले कारबाही गर्न सकेको छैन ।
यता, बैंकले नोटमा स्टिच लगाएर दिन्छ । सेवाग्राही पैसा लिन जाँदा बैंकले स्टिच लगाएको बण्डल दिन्छ । त्यो स्टिच निकाल्न पैसा च्यातिन्छ । पैसामा स्टिच लगाउनुपर्ने आवश्यकता छैन । रबरले बाँधेर दिँदा भो । यसले निकाल्नेलाई पनि सहज हुन्छ । सार्वजनिक यातायात, ट्याक्सी, निजी यातायातमा सजाउनका लागि मूर्ति राखिएको हुन्छ ।त्यसमा नोट बटारेर राखिन्छ । त्यति मात्र होइन, सार्वजनिक यातायातमा त पैसा सिलाएर झुण्ड्याएको हुन्छ । सियोले उनेर झुण्ड्याउँछन् । धार्मिक कार्य गर्दा पैसामा रंग हालिन्छ । पैसामा रंग हाल्न मिल्छ ? रंग हाल्दा पैसा बिग्रिँदैन ? मुलुकको कानुनले पैसामा रंग हाल्न, उन्न, जलाउन रोक लगाएको छ ।
पैसा बिगार्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था छ । तर, न सरकारले नियमन गर्छ न जनतामा चेतना नै आउँछ । दशैंका लागि भनेर सरकारले वर्षेनि ठूलो खर्च गरेर नोट छाप्छ । दशैंमा ती पैसा रंग पोतेर काम नलाग्ने बनाइन्छ । यसले राज्यलाई नोक्सानी भयो कि भएन ?नोट छाप्नका लागि राज्यले राज्यकोषमा ठूलो खर्च गर्छ । पैसा जति टिक्यो, त्यति नै राज्यलाई फाइदा हो । राज्यले पैसा नबिगारौं भनेर जनतालाई पाठ सिकाउन सकेन । अझै नेपालमा त पैसामा तेल खन्याइन्छ । पैसा हालिन्छ । पशु बली दिँदा पैसाभर रगत पारिन्छ । रगत पार, तेल खन्याऊ भनेर पैसा छापेको हो ?
अधिकांशले पैसा कच्याककुचुक पारेर गोजी र पर्समा हालेको देखिन्छ । त्यसले पैसा च्यातिने जोखिम अधिक हुन्छ । नेपालीलाई पैसाको मूल्य र जनता भन्ने नै थाहा भएन । लेख्नका लागि कापी छ । तर, पैसामा केरिदिन्छन् । पैसामा नामलगायत जथाभावी लेखिरहेको भेटिन्छ । पैसा चुरोटले पोलेको अवस्थामा पनि भेटिन्छ ।पूजा गर्ने क्रममा पैसा डढाइन्छ । जनतालाई सचेत बनाउन देशमा विज्ञापन बोर्ड छ । विज्ञापन बोर्डले नागरिकलाई सचेत गराउँदैन । सानो सूचना निकालेर वा सामाजिक सञ्जालमा कन्टेण्ट बनाएर आम नागरिकलाई सचेत गराउनुपर्नेमा बोर्डलाई चासो छैन । अभिभावक नै पैसाको जतन गर्दैनन्, छोराछोरीले के सिक्थे ?
छापेको एक वर्ष पनि पैसा टिक्दैन । त्यसैले नेपालमा वर्षेनि पैसा छाप्नुपर्ने बाध्यता छ । नागरिकले पैसा छाप्दा आफैंले तिरेको कर सकिन्छ भनेर बुझ्न आवश्यक छ । पैसा जतिसक्दो टिकाऊ । रंग, अबिर, तेल, पानीले पैसा नभिजाऊँ । पैसालाई मिलाएर राखौं । जथाभावी गुटुमुटु नबनाऊँ ।किनकि, पैसा हामी सबैको सम्पत्ति हो । पैसाको संरक्षण गर्नु जति राज्यको दायित्व हो, त्यति नै जनताको पनि । पैसा कसरी राख्ने ? सरकारले जनतालाई सिकाउन आवश्यक छ । पैसाको मूल्य सबैलाई बुझाऔं । दशैंमा नयाँ नोट दिइन्छ । दक्षिणा दिनका लागि सरकारले पैसा साटेको हो ।
पैसा साट्दा खर्च लाग्छ, दुःख हुन्छ । तर, जनताले किन त्यो पीडा बुझ्दैनन् ? पैसा साट्न जाँदा लाइनमा बस्नुपर्छ । घर ल्याउनेबित्तिकै पैसा बिगारिन्छ । रंग लगाउने हो कि कोर्ने ? बिगार्न थालिन्छ । नयाँ नोट त नेपालीलाई देख्नै हुँदैन । बिगार्न थालिहाल्छन् । जनता पढेका छन्, तर व्यवहार अनपढजस्तो छ ।उनीहरुलाई पैसा कसरी चलाउनुपर्छ ? कसरी जोगाउनुपर्छ थाहा छ, हुनुपर्छ । तर, उनीहरुबाटै पैसा बिगार्ने काम हुनु विडम्बनापूर्ण छ । पढेर मात्र हुँदैन, राज्यले नागरिकलाई व्यवहारिक ज्ञान पनि दिन सक्नुपर्छ । जहाँ सरकार चुकेको छ । सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा जनताले बाटो बिराएका छन् ।
विदेशमा नोटहरु एकदमै जतन गरेर चलाइन्छ । अन्य मुलुकले नोटभन्दा बढी डबल चलाइरहेको पाइन्छ । कारण हो–पटकपटक छाप्न नपरोस्, राज्यलाई भार नपरोस् । पहिलेपहिले नेपालमा पनि धेरै डबल नै चल्थ्यो । नोट त एक र दुई रुपैयाँको हुन्थ्यो । सरकारले एकपटक २५ रुपैयाँको नोट पनि निकाल्यो ।डबल हुँदा पटकपटक छापिरहनु आवश्यक पर्दैन । सरकारसँग बजारमा कति पैसा छ ? कति नोट भदौ २३ र २४ गतेको आन्दोलनमा जल्यो ? रसुवा र बुढीगण्डकीको बाढीमा बग्यो ? कति नोट घरमा लुकेको छ ? कति नोट बिग्रियो ? डाटा छैन । बस् पैसा खर्च गर्ने र नोट छाप्ने काम मात्र भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्व पौडेल र अर्थमन्त्री डा स्वर्णिम वाग्लेको ध्यान सेयर, घरजग्गामा मात्र केन्द्रित छ । सेयरको मूल्य बढ्छ भन्छन् । अर्थतन्त्र चलायमान हुन्छ, घरजग्गाको मूल्य बढ्छ भन्छन् । यति भनेपछि उनीहरुको तलब पाकिहाल्यो । नोट संरक्षणमा उनीहरुलाई चासो नै छैन ।सरकार दशैंमा एटीएमबाट एक सयको नोट पनि निस्किन्छ भनिरहेको छ । तर, एटीएमजति जम्मै रित्तो छ । पैसा नै भेटिँदैन । न्युरोडका व्यापारी सात वर्षको तुलनामा अहिले ४० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । यसको कारण हो–व्यक्तिले पाँच सय र हजारको नोट घरमा लुकाउनु ।
त्यो पैसा बजारमा निकाल्न सरकार असफल भएको छ । यता, बैंकमा पैसा थुप्रिएर बसेको छ । त्यो पैसा पनि कतै लगानी हुन सकेको छैन । राष्ट्र बैंक र बैंकरहरुको संघ नेपालमा पाँच प्रतिशतमा कहिल्यै कर्जा प्रवाह नगरेको बताउँछन् । यो इतिहासकै सबैभन्दा सस्तो ब्याजदर भएको संघको जिकिर छ ।तर, त्यति सस्तोमा कर्जा दिँदा पनि लिने मान्छे छैनन् । कर्जा प्रवाह नै भएको छैन । सात वर्षअघि सरकारी बैंकले १२ देखि १४, निजी बैंकले १६ र सहकारीले २२ प्रतिशत ब्याज दिन्थ्यो । अहिले साढे तीन प्रतिशत ब्याज दिइएको छ । यो स्थिति आउनुमा राष्ट्र बैंक र अर्थ मन्त्रालय दोषी हो । काम नगर्ने, जनता झुक्याइरहने ।
राष्ट्र बैंक र अर्थ मन्त्रालय आफ्नो जिम्मेवारी पुरा गर्नमा असफल भइसकेको छ । पैसाको सुरक्षादेखि अर्थतन्त्र चलायमानमा सरकार फेल खाइसकेको छ । सरकारका अधिकारीहरु कतिसम्म झुठ बोल्छन् ? यसको उदाहरण हो कर्णाली विकास बैंक । तत्कालीन गर्भनर महाप्रसाद अधिकारीले बैंक डुबेमा राष्ट्र बैंकले तत्काल पैसा दिन्छ भनेका थिए ।
तर, त्यस्तो त भएन । अहिलेसम्म बचतकर्ताले पैसा पाएका छैनन् । उनीहरु आफ्नो बचत फिर्ताका निम्ति घरी आन्दोलन गर्छन् घरी धर्ना बस्छन् । राज्यले पैसा बिगार्नेलाई धमाधम कारबाही गर्नुपर्छ ।

































