साइबर जोखिमपछि सरकारी वेबसाइट र प्रणाली अस्थायी बन्द
वि.सं.२०८३ कात्तिक ६ शुक्रवार
shares
काठमाडौं । साइबर सुरक्षामा गम्भीर जोखिम देखिएपछि नेपाल सरकारले केही सरकारी वेबसाइट तथा सूचना प्रणाली अस्थायी रूपमा बन्द गरेको छ। सम्भावित साइबर आक्रमणबाट सरकारी प्रणालीलाई जोगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले यस्तो कदम चालेको हो।
केन्द्रका अनुसार PHP प्रविधिमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि प्रभावित हुन सक्ने केही सरकारी प्रणाली अस्थायी रूपमा बन्द गरी सुरक्षा सुधारको काम अघि बढाइएको छ।
बुधबार सार्वजनिक भएका दुई सुरक्षा जोखिमका कारण आक्रमणकारीले प्रयोगकर्ताको अनुमति वा लगइनबिनै प्रभावित सर्भरमा कोड चलाउन सक्ने खतरा देखिएको थियो। यस्तो कमजोरीको दुरुपयोग भए सरकारी प्रणालीमा अनधिकृत पहुँच स्थापित हुन सक्ने र साइबर आक्रमणको जोखिम बढ्ने सम्भावना थियो।
जोखिम सार्वजनिक भएसँगै सरकारी निकायका प्राविधिक टोलीले प्रभावित प्रणालीको सुरक्षा सुधार तथा परीक्षण थालेका छन्। केन्द्रका अनुसार केही प्रणालीमा सुरक्षा कमजोरी सुधार गरी पुनः सञ्चालनमा ल्याइसकिएको छ। बाँकी प्रणालीमा पनि सुरक्षा परीक्षण र आवश्यक सुधार पूरा भएपछि क्रमशः सञ्चालनमा ल्याइनेछ।
दसैं बिदाका समयमा प्रणाली बन्द गरिएकाले सरकारी कामकाजमा खासै असर नपरेको केन्द्रले जनाएको छ। बिदा सकिनुअघि नै सबै महत्त्वपूर्ण प्रणालीको सुरक्षा सुधार गरी पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
सरकारी वेबसाइट तथा सूचना प्रणालीमा देखिएको जोखिमले डिजिटल सेवाको सुरक्षा र निरन्तर सञ्चालन सुनिश्चित गर्न समयमै प्राविधिक सतर्कता अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


































