कालिगढ पलायनसँगै संकटमा टक्सारको धातुकला

348
shares
Nabil bank

भोजपुर । तत्कालीन राजा गीर्वाणयुद्ध शाहको पालामा वि.सं. १८७२ मा स्थापना भएको भोजपुरको ऐतिहासिक टक्सार बजारमा धातु व्यवसाय संकटमा पर्दै गएको छ । दक्ष कालिगढ र स्थानीय व्यवसायी पलायन हुन थालेपछि कुनै समय देशविदेशमा प्रसिद्ध टक्सारको धातुकला अहिले पाँच घरमा सीमित भएको छ ।

भोजपुर नगरपालिका–१२ स्थित टक्सारमा विगतमा धातुका सामग्री उत्पादन गर्ने उद्योगको राम्रो पहिचान थियो । यहाँ बनेका करुवा, तामाका भाँडाकुँडा, गाग्री, काँसका थाल, लोटा, आमखोरा, अन्टी, गिलास, कचौरा र डबकाजस्ता सामग्री नेपालका विभिन्न स्थानसँगै विदेशमा समेत बिक्री हुने गरेका थिए । तर पछिल्लो समय कालिगढको अभाव र स्थानीय व्यवसायी विस्थापित हुने क्रम बढेसँगै यो परम्परागत व्यवसाय धराशायी बन्दै गएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय टक्सारका प्रमुख उद्योग अधिकृत दुर्गाप्रसाद सुवेदीका अनुसार अहिले टक्सारमा पाँच घरले मात्र धातुका सामग्री उत्पादन गर्दै आएका छन् । विगतमा टक्सारमा उत्पादित सामग्री अन्य जिल्लामा बिक्रीका लागि जाने गरे पनि अहिले भोजपुरकै बजारमा जिल्ला बाहिरबाट उत्पादित सामग्री आउने गरेका छन् ।

‘टक्सार बजारलाई पहिलेकै अवस्थामा फर्काउन विशेष कार्यक्रम आवश्यक देखिन्छ । त्यसले विस्थापित भएका व्यवसायी र कालिगढलाई पुनः फर्कन प्रोत्साहित गर्नुपर्छ,’ सुवेदीले भने ।

उनका अनुसार अहिले सामान्य रूपमा धातु व्यवसाय सञ्चालन गरिरहेका उद्योगमध्ये एउटा मात्र नवीकरण भएको छ । टक्सारका बाँकी व्यवसायीले पनि बजारको मागअनुसार सीमित मात्रामा सामग्री उत्पादन गर्दै आएका छन् ।

स्थानीय व्यवसायी विमल शाक्यका अनुसार कालिगढको अभावसँगै कच्चापदार्थको महँगो आपूर्तिले पनि टक्सारको धातु व्यवसाय प्रभावित भएको छ । स्थानीय स्तरमा खानी तथा कच्चापदार्थको स्रोत नहुँदा तराईबाट आवश्यक धातु र कोइला ढुवानी गर्नुपर्ने अवस्था छ । ढुवानी खर्च बढी लाग्ने भएकाले उत्पादन लागत बढेको र व्यवसायी पलायन हुने क्रम बढेको उनले बताए ।

विगतमा टक्सारमा उत्पादित हस्तकलाका सामग्री चीनको तिब्बत र भारतका दार्जिलिङ, आसाम, सिलगढी तथा कोलकातासम्म बिक्रीका लागि जाने गरेको शाक्यले बताए । उनका अनुसार अहिले भने दुई–चार घरले मात्र यो व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।

स्थानीय विमल रणपहेलीले पनि टक्सारबाट व्यवसायी विस्थापित हुने क्रम नरोकिँदा धातु उद्योग संकटमा परेको बताए । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म लाखौँ रुपैयाँ मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छापिने टक्सार बजार पछिल्लो समय सुनसान बन्दै गएको उनको भनाइ छ ।

सामाजिक अभियन्ता घमचन्द्र दाहालका अनुसार भोजपुरको टक्सार बजार नेपालको मौद्रिक, सांस्कृतिक र कलात्मक इतिहास बोकेको महत्वपूर्ण क्षेत्र हो । धातु व्यवसायका साथै टक छपाइको केन्द्रका रूपमा परिचित टक्सारले करुवालगायत मौलिक धातुकलालाई राष्ट्रिय पहिचान दिलाएको उनको भनाइ छ ।

‘धातु व्यवसाय मात्र नभएर टक छपाइको केन्द्रीय थलोका रूपमा परिचित टक्सारले आर्थिक गतिविधिसँगै मौलिक धातुकलालाई पनि राष्ट्रिय पहिचानमा उभ्याएको थियो । तर अहिले यो गौरवशाली परम्परा इतिहासका पानामा सीमित हुँदै गएको छ,’ दाहालले भने ।

उनले टक्सारको ऐतिहासिक पहिचान जोगाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी विशेष संरक्षण योजना अघि बढाउनुपर्ने बताए । धातुकला संग्रहालय स्थापना, परम्परागत शिल्पसम्बन्धी तालिम केन्द्र सञ्चालन र स्थानीय उत्पादकका सामग्रीलाई बजारसम्म पु¥याउने कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

पाटनसँग मिल्दोजुल्दो धार्मिक सम्पदा, कला र परम्परागत व्यापार शैलीका कारण टक्सारलाई ’मिनी पाटन’ समेत भन्ने गरिन्छ । भोजपुर सदरमुकामबाट करिब डेढ किलोमिटर दूरीमा रहेको यो ऐतिहासिक बजारको मौलिक पहिचान जोगाउन नसके परम्परागत धातुकला र त्यससँग जोडिएको सीपसमेत लोप हुने जोखिम बढेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x