नेपाल लाइफको रेटिङ डबल ए (AA) मा स्तरोन्नति, वित्तीय सुदृढताको अर्को उपलब्धि
वि.सं.२०८३ कात्तिक १८ बुधवार
shares
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रेडिट रेटिङ स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको डबल ए माइनस (AA−) रेटिङ बढाएर डबल ए (AA) कायम गरेको हो।
कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी क्षमता, लगानी संरचना, प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कनपछि रेटिङ स्तरोन्नति गरिएको इक्रा नेपालले जनाएको छ।
इक्रा नेपालका अनुसार डबल ए (AA) रेटिङ प्राप्त संस्थाहरूले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा कायम गरेका हुन्छन्। यस्ता संस्थामा कर्जा जोखिमसमेत अत्यन्त न्यून रहने मूल्याङ्कन गरिन्छ।
यसअघि जीवन बीमा क्षेत्रमा इक्रा नेपालबाट डबल ए माइनस (AA−) रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको नेपाल लाइफले अहिले थप एक तह माथिको रेटिङ हासिल गरेको हो। यसलाई कम्पनीको वित्तीय क्षमता र संस्थागत अवस्थासँग जोडिएको उपलब्धिका रूपमा हेरिएको छ।
इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ। यो अनुपात नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा माथि हो।
त्यस्तै, कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्दै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएको छ। लगानीका विभिन्न क्षेत्र समेटेर पोर्टफोलियो विविधीकरण गरेकाले कम्पनीको वित्तीय संरचना थप सुदृढ भएको मूल्याङ्कन गरिएको छ।
आर्थिक वर्ष २०२५/२६ मा कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। कम्पनीले उक्त अवधिमा करिब ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै, कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब रुपैयाँ र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ।
सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले सन् २०२६ जुलाई मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। देशव्यापी शाखा सञ्जाल, अभिकर्ताको सशक्त संरचना, अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा औंल्याएको छ।
जोखिम व्यवस्थापनलाई प्राथमिकता दिएको कम्पनीले नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग पर्याप्त पुनर्बीमा व्यवस्था गरेको जनाएको छ। साथै, आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटास्ट्रोफिक कभर र करिब १ अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोषसमेत कायम गरेको छ।
रेटिङ स्तरोन्नतिबारे प्रतिक्रिया दिँदै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई कम्पनीको निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन र सरोकारवालाको विश्वासको प्रतिफल भएको बताएका छन्।
उनले भने, “डबल ए माइनस (AA−) बाट डबल ए (AA) मा भएको यो स्तरोन्नति नेपाल लाइफको निरन्तर उत्कृष्टता, वित्तीय सुदृढता र दीर्घकालीन प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि हो। यसले हामीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अगाडि बढ्न थप प्रेरित गरेको छ।”
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीका सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
आगामी दिनमा पनि सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानी विविधीकरणलाई निरन्तरता दिने, विवेकपूर्ण जोखिम व्यवस्थापन गर्ने तथा सरोकारवालाको दीर्घकालीन हित र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ।
































