मुख्यमन्त्री – एकैदिन दुई मुख्यमन्त्री परिवर्तन र शपथग्रहण
वि.सं.२०७८ कात्तिक १७ बुधवार
shares
काठमाडौं । प्रदेश १ र कर्णाली दुवै प्रदेशमा बुधबार मुख्यमन्त्री फेरिएका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको ठाउँमा एकीकृत समाजवादीका राजेन्द्र राई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको ठाउँमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त दुवै मुख्यमन्त्रीले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का मुख्यमन्त्री आचार्यले अल्पमतमा परेपछि राजीनामा दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने गत वैशाखमा नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पद त्याग गरेका थिए ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राईले बुधबार नै कांग्रेस, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई सहभागी गराएर पाँच सदस्यीय मन्त्रिपरिषद बिस्तार गरेका छन् ।मंगलबार राईसहित नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीसहित चार मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् । कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा)बाट एक जना मन्त्री भएका छन् । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् ।
जसपाका नेता जयराम यादव सामाजिक विकासमन्त्री बन्दा कांग्रेसका सचेतकसमेत रहेका केदार कार्कीले आन्तरिक मामिला मन्त्री र कांग्रेसकै नेता हिमाल कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।
नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् । शाहीले मुख्यमन्त्रीको शपथ लिएपनि मन्त्रालयको भागबण्डा’bout गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ ।




























