खोप फागुनसम्म आउने संकेत

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।

सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् । स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’

 

उनले सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकता दिने भन्दै खोप आयातका लागि आन्तरिक तयारी धेरै अघि बढिसकेको बताए । उनले आफूले रुस, भारत र अरबका राजदूतसँग खोप प्राप्तिका सन्दर्भमा कुरा गरेको बताए । उनले भने, ‘खोप प्राप्तिका लागि सरकार गम्भीर छ । सरकारले आफ्ना हरेक च्यानल र सम्भावनालाई अघि बढाइरहेको छ ।’

 

कोभ्याक्समार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप प्राप्तिको सुनिश्चितता करिब करिब भइसकेको बताए । निजी क्षेत्रलाई खरिद प्रक्रियामा सामेल गराइने भन्दै सरकार सरकारबीचको खरिद प्रक्रियालाई प्राथमिकतामा राखिएको बताए । उनले भने, ‘कोभ्याक्समाथि मात्रै हामी निर्भर छैनौं । उसले दिनुभन्दा अघि अरू खोप आउँछ । तत्तत् देशको सरकारको सहयोग लिएर अघि बढिरहेका छौं ।’

 

खोप कोषमा जम्मा गर्न विदेशी दातृ संस्थाहरूलाई आग्रह गर्ने तयारी थालिएको छ । खोप कोषमा अर्थ मन्त्रालयबाट ५० करोड रुपैयाँ निकासा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म खोप सन्दर्भमा तत्कालीन काम गर्न ६८ करोड रुपैयाँ बजेट रहेको स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए । दक्षिण एसियामा खोप प्राप्तिका लागि नेपाल पछि नपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले प्राप्त भएको खोप निःशुल्क लगाउने बताएको छ ।

 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’ राजधानी दैनिकबाट

Shangri-la Development Bank Ltd.
Nepali patro