भीसीटीएसमा करीब ५५ खर्ब बराबरको मालवस्तुको कारोबार
वि.सं.२०७८ साउन ७ बिहीवार
shares
काठमाडौं । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा करीब ५५ खर्ब बराबरको मालवस्तु प्रविष्ट गरी कारोबार भएको छ । भन्सार छलेर आयात गरिने मालवस्तु नियन्त्रण गरी वैध कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ वर्षअघि सरकारले लागू गरेको भीसीटीएस प्रणालीमार्फत अहिलेसम्म रू। ५४ खर्ब ८९ अर्ब कारोबार भएको हो ।
यो प्रणाली कार्यान्वयन गर्दै आएको राजस्व अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७७ असार मसान्तसम्ममा रू.२१ खर्ब ८३ अर्बको मालवस्तुको कारोबार प्रविष्ट भएको थियो । त्यसयता गत आर्थिक वर्ष अर्थात् २०७८ को असारसम्ममा मात्रै रू। ३६ खर्ब १६ अर्बको कारोबार प्रविष्ट भएको विभागको तथ्यांकले देखाउँछ ।
अवैध कारोवारमा संलग्न व्यक्तिलाई कानूनी कठघरमा उभ्याउँदै वैध कारोबारबाट करको दायरा बढाउन सरकारले ल्याएको यो प्रणालीमा छोटो समयमा नै प्रभावकारी हिसाबले कार्यान्वयनमा ल्याउन सकिएको राजस्व अनुसन्धान विभागका अधिकारीहरू बताउँछन् ।
कारोबार रकम मात्रै नभई पछिल्लो समय भीसीटीएस प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताहरू समेत बढ्दै गएका छन् । ३ वर्षको अवधिमा यो प्रणाली प्रयोगकर्ताको संख्या १ लाख २८ हजार ८ सय पुगेको छ । यो अवधिमा १ करोड ८१ लाख ७ हजार बिलहरू भीसीटीएस प्रणालीमा गत असारसम्ममा प्रविष्ट भएको राजस्व अनुसन्धान विभागको तथ्यांकले देखाउँछ ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भीसीटीएस प्रणालीलाई छोटो अवधिमा नै प्रभावकारी कार्यान्वयनमा लैजान सफल भएको बताउँछन् ।
‘आयातकर्ताहरूको पूर्ण सहयोगका कारण अवैध कारोबारलाई धेरै हदसम्म नियन्त्रण गर्न हामी सफल भएका छौं,’ उनले भने । आचार्यका अनुसार गतवर्षको बन्दाबन्दीमा भन्दा यसपालिको निषेधाज्ञामा धेरै कारोबारलाई विभागले भीसीटीएस प्रणालीमा ल्याउन सफल भएको छ । यसले अवैध कारोबारी नियन्त्रण हुँदै गएको विभागको ठम्याइ छ ।
राजस्व अनुसन्धान विभागले राजस्व छली र विदेशी विनिमय अपचलमा निगरानी गर्दै आएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थ मन्त्रालय मातहत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याई भीसीटीएस प्रणाली कडाइका साथ लागू गरेको थियो ।
यो प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनुको श्रेय तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडा र तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीमा जाने गरेको छ ।
यसले उक्त प्रणाली लागू गर्दा चर्को विरोध खेपेका थिए । खासगरी प्रणालीबारे निजीक्षेत्र, आयातकर्ताहरूले सहज रूपमा बुझ्न नसक्दा भीसीटीएस प्रणालीबारे तत्कालीन समयमा अन्योल देखिएको थियो।
भीसीटीएस प्रणाली भनेको एक ठाउँबाट अर्को ठाउँसम्म मालसामान ढुवानी गर्न राजस्व अनुसन्धान विभागले प्रयोगमा ल्याएको अनलाइन फारम हो, जहाँ बिल बीजक, प्यान र भ्याट नम्बर, वस्तुको मूल्य, परिमाण, सामान पुर्याउनुपर्ने गन्तव्य, गाडी नम्बरलगायत भर्नुपर्छ ।
प्रारम्भिक चरणमा अस्पष्टता रहँदा आयातकर्ता अन्योलमा परे पनि सरकारी अधिकारीहरूले त्यसबारे बुझाउँदै जाँदा यो प्रणालीको कार्यान्वयन प्रभावकारी हुँदै गएको नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर बताउँछन् । उनका अनुसार यो प्रणालीले व्यवसायमा स्वच्छता र वैध कारोबारलाई समेत सघाएको छ ।
आर्थिक दैनिकमा समाचार छ।
































