विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक

  • प्रकाशित मिति : २०७८ आश्विन ११, सोमबार ०६:४५
  • सिंहदरबार न्युज

काठमाडाैं । आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कमल खत्रीको शब्‍द तथा संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन् । यसै भिडियोबाट विन्‍दुले अभिनयमा डेब्यु गरेकी हुन् । भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो विन्दु परियारकै अफिसियल युट्युब च्‍यानलबाट सार्वजनिक गरिएको छ ।