नाका खुल्दा सीमाक्षेत्रका होटेल व्यवसायीलाई राहत

वीरगञ्ज । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ ।

यसअघि कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत ११ मा लगाइएको बन्दाबन्दीसँगै बन्द गरिएको भारतीय सीमानाका शुक्रवारबाट खोलिएको हो । नाका खुलेसँगै निजी सवारीको आवतजावतमा लगाइएको रोक हटेको छ ।

आर्थिक र सामाजिक दैनिकी सामान्य लयमा फर्किइसक्दा पनि सवारीसाधनमा रोक कायमै रहँदा असहज भएको थियो । यसबाट भारतीय ग्राहकलाई लक्षित गरेर खोलिएका सीमाक्षेत्रका होटेल र पर्यटन व्यवसाय बढी प्रभावित भएका थिए ।

सवारी आवागमन खुला भएसँगै राहत भएको होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए । मन्त्रिपरिषद्ले गत असोज ५ गते नै सीमानाका खोल्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण शुक्रवारदेखि सीमानाकाबाट यस्ता सवारीसाधन आउजाउ शुरू भएको हो ।

‘शनिवार वीरगञ्जमा भारतीय सवारीसाधनको आवागमन बाक्लिएको छ । होटेलका पार्किङमा पनि भारतीय नम्बरका साधन देखिएका छन्, अध्यक्ष पन्तले आर्थिक अभियानसित भने ।

सरकारले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी ओदश २०७८’ जारी गरेको छ । गृह र अर्थ मन्त्रालयले मातहतका स्थानीय निकायलाई नाका खोल्ने परिपत्र पठाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

व्यवसायीले बारम्बार ताकेता बढाएपछि नाका खोल्ने पत्र स्थानीय प्रशासन र भन्सारमा आएको थियो । गृह र अर्थ मन्त्रालयबाट आवश्यक मापदण्ड पालना गरी भारतीय गाडी भित्रिन दिने पत्र पठाएपछि भारतीय यात्रुवाहक गाडीलाई प्रवेश अनुमति दिइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए। याे समाचार आर्थिक अभियान दैनिकमा छ।

Shangri-la Development Bank Ltd.
Nepali patro