बिलबिजकसमेत नभएको १३ टन जिङ्क बिदाकै दिन राजस्व कार्यालय खोलेर छोड्ने तयारी
वि.सं.२०८३ कात्तिक २१ शनिवार
shares
इटहरी । सार्वजनिक बिदाको दिन शनिबारसमेत राजस्व अनुसन्धान पूर्वाञ्चल कार्यालय इटहरीबाट ट्रक छुटाउने प्रक्रिया अघि बढाउन खोजिएको पाइएको छ। खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान लागिएको १३ टन जिङ्क एस धुलोसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले उर्लाबारीबाट नियन्त्रणमा लिएको थियो ।
ना ६ ख १३४८ नम्बरको ट्रकमा रहेको उक्त जिङ्क एस धुलोको स्टक प्रमाणित हुने कागजात फेला नपरेको बताइएको छ। त्यस्तै, बिर्तामोडमा रहेको भनिएको कम्पनीको वैधतामाथि समेत प्रश्न उठेको छ। स्रोतका अनुसार कम्पनी खडा गरी बिलबिजक तयार पारेर उक्त सामान भारततर्फ लैजान खोजिएको थियो।
राजस्व अनुसन्धान टोलीले शुक्रबार नियन्त्रणमा लिएको उक्त ट्रक आवश्यक कागजात तथा खरिद बिलबिना फेला पारेको बताइएको छ। तर, अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया पूरा नगरी ठूलो आर्थिक चलखेलमार्फत सामान छुटाउने प्रयास भइरहेको उच्च स्रोतको दाबी छ।
अझ सार्वजनिक बिदाको दिन शनिबारसमेत कार्यालय खोलेर ट्रक छुटाउने प्रक्रिया अघि बढाउन खोजिएको विषयले थप प्रश्न उब्जाएको छ। सामानको स्रोत, खरिद प्रक्रिया, कम्पनीको वैधता र बिलबिजकको अवस्थाबारे अनुसन्धान भइरहेको छ कि छैन भन्ने विषयसमेत चासोको विषय बनेको छ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख उत्तम शर्मा घिमिरे तथा अनुसन्धान अधिकृतहरू राजेश दत्त, प्रज्वल पोखरेललगायतको जिम्मेवारीमा रहेको कार्यालयबाट नियन्त्रणमा लिइएको सामान छुटाउने प्रयास भएको भन्ने आरोपले कार्यालयको भूमिकामाथि नै प्रश्न उठाएको छ।
































