५ अर्बको लागतमा बनेको ‘हायात प्लेस’ होटल सञ्चालनमा

काठमाडौं । झट्ट हेर्दा अपार्टमेन्ट जस्तो देखिने होटल ‘हायात प्लेस’ पर्सी सोमबार कार्तिक २९ गतेबाट सञ्चालनमा आउने भएको छ । गोल्यान ग्रूपका अध्यक्ष पवन गोल्यान, शक्ति गोल्यान र व्यवसायी कमलेश अग्रवालको संयुक्त लागनीमा स्थापना भएको होटल सोमबारबाट औपचारिक रुपमा सुरु हुन लागेको हो ।

२०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेका थिए । त्यसपछि नेपालमा मल्टिनेसनल कम्पनी तथा नीजिक्षेत्रको ध्यान होटलतर्फ केन्द्रित भयो ।

त्यसको २ वर्षपछि विश्वलाई आक्रान्त पार्ने गरी फैलिएको कोरोना महामारीका कारण कतिपय होटल बन्दा बन्दै थन्किए भने कतिले जोखिम मोलेरै भएपनि सुनौलो बिहानी आउने विश्वासका साथ होटल सञ्चालनमा ल्याए । त्यसमध्ये एउटा होटल हो ‘हायात प्लेस ’ ।

देशकै पुरानो होटल ‘सोल्टी क्राउन प्लाजा’ को नजिकै रहेको यो होटलको व्यवस्थापन भने हस्पिटालिटी क्षेत्रमा विश्व विख्यात कम्पनी हायातलाई सुम्पिएको छ । होटलको प्रमुख व्यवस्थापनका लागि हायात इन्टरनेसनल साउथ वेस्ट एसियासँग सम्झौता भएको हो । यसको प्रधान कार्यालय दुबईमा छ । हायात प्लेस यसको अन्तर्राष्ट्रिय ब्रान्ड हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो ।

 

ग्लोवल मार्केटमै हस्पिटालिटीकै प्रमुख हिस्सा ओगट्दै आएको हायातको हस्पिटालिटीको क्षेत्रमा २० वटा प्रिमियर ब्रान्ड रहेका छन् । ६० वटा भन्दा धेरै देशमा ८ सय ७५ वटा भन्दा धेरै लगानी छ । हस्पिटालिटीको क्षेत्रमा नयाँ संस्करण भएकोले गू्रप आफैले व्यवस्थापनको जिम्मा नलिएर जोखिम नमोलेको हो ।

लगाानीकर्ताले ५ अर्ब लागतमा दुई वटा भव्य र आकर्षक संरचना तयार पारेका छन् । उक्त भव्य भवनमध्ये अगाडि भवनमा होटल र पछाडिको भवन अपार्टमेन्टको लागि प्रयोग हुने हो । लक्ष्यभन्दा ८ महिना ढिलागरी सञ्चालनमा आउन लागेको उक्त होटल ढिलोमा ५ देखि ७ वर्षमा ब्रेक इभनमा जाने गोल्यान ग्रूपका अध्यक्ष पवन गोल्यानले बताए ।

१० रोपनी क्षेत्रफलमा बनेको होटलमा ३ वटा स्वीट रुमसहित ७ सिट आउट ट्यरिस् रुम र १५३ गेष्ट रुमहरु उपलब्ध छन् ।होटलमा इभन नम्बरबाट हिमाल देख्न पाइन्छ भने अड नम्बरपट्टीको कोठाबाट चम्पादेवी र चन्द्रागिरीजस्ता रमणीय हरिया पहाड देख्न सकिन्छ । १४ तलाको होटलमा रेस्टुरेन्ट, बैंक्युट, फिटनेस सेन्टर, स्पा र स्विमिङ पुलको सुविधा रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro