क्यान इन्फोटेक २०२२ का सन्दर्भमा क्यान महासंघद्वारा पत्रकार सम्मेलन सम्पन्न
वि.सं.२०७८ पुस ११ आइतवार
30.9K
shares
shares
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो । यो गैर राजनीतिक, गैर नाफामुलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधि सम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजिकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।
क्यान सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित भएको हो ।
क्यान इन्फोटेक २०२२
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक २०२२ मिति २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्दैछ । यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुवल – दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको छ । क्यान इन्फोटेकको भर्चुवल आयोजना हाम्रा लागी पनि नयां हुनेछ एवं सबै तयारी पुरा भैसकेपछि यस सम्बन्धि अन्य जानकारी यहांहरुसमक्ष गराउनेनै छौं ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुदैं आएको क्यान इन्फोटेकको २७ औं संस्करण हो जुन ६ दिन सम्म चल्नेछ ।
इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिड-१९ को दोश्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अर्को निर्णय नभए सम्मको लागि स्थगित गरिएको थियो ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले गरेका छन । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर (IME Pay CAN InfoTech 2022 in association with SCT Smart QR) को प्लाटिनम प्रायोजन – वल्र्डलिंक कम्युनिकेशन्स, डायमण्ड प्रायोजन – डिसहोम फाईबरनेट, गोल्ड प्रायोजन – नेपाल टेलिकम, सिल्भर प्रायोजन – नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन ।
सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स – आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर (IME Pay CAN InfoTech 2022 in association with SCT Smart QR) को इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल – एकाडेमिक पार्टनर, रिबान – फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी – डीजिटल डीसप्ले पार्टनर रहेका छन ।
इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार – सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु र भायानेट कम्युनिकेशन्स तथा अन्तरराष्ट्रिय रुपमा असोसियो (Asian-Oceanian Computing Industry Organization) र विट्सा (World Information Technology and Services Alliance) को पनि सहयोग रहने छ ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२० मा इन्फोटेकको २६ औं संस्करण सफलता पुर्वक सम्पन्न भएको थियो । नेपालमा सूचना तथा संचार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी (Trade Show)को र यसको आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धि व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक २०२२ को टिकटको मुल्य ने.रु. १ हुनेछ र यो पटक पनि टिकट पेपरलेस नै हुनेछ ।
सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
यो प्रर्दशनी सुचना प्रबिधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो पनि हुने बिश्वास हामीले लिएका छौं । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ,स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि,इ–वेष्ट म्यानेजमेण्ट, इ-गभर्नेन्स, सुचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाईएको छ ।
इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क, आईओटी, ब्लक चेन तथा आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् ।
यसै सन्दर्भमा क्यान इन्फोटेक २०२२ का लागि मिति २०७८ साल पौष १३ गते मंगलवार देखि बुकिङ्ग खुल्ला हुने छ । क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोहि वा वढि संख्यामा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं ।
Subscribe
0 Comments
Oldest































