सामाजिक सुरक्षाको काँध थाप्दै मानवसेवा आश्रम

87
shares
Nabil bank

 

 

संविधानले प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरे पनि सडकपेटीमा छटपटाइरहेका बेसहारा नागरिकको अभिभावकत्व राज्यले भन्दा पहिले एउटा सामाजिक अभियानले ग्रहण गरेको छ।

 

सहरका चिल्ला सडक, गगनचुम्बी महल र आधुनिक जीवनशैलीको चमकधमकमुनि एउटा अँध्यारो यथार्थ सधैँ लुकेको हुन्छ। त्यही अँध्यारोमा— खुला आकाशमुनि, मठमन्दिरका पेटी, बसपार्क र पुलमुनि कतिपय मानिस जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका हुन्छन्। शरीरभरि कीरा परेका घाउ, वर्षौँदेखि ननुहाएको मैलो जीउ, भोकले चाउरिएको पेट र मानसिक सन्तुलन गुमाएका ती अनुहार देख्दा लाग्छ— मानौँ उनीहरू यो देशका नागरिक नै होइनन्।

 

आधुनिकता, व्यस्तता र व्यक्तिवादी सोचको दौडमा हामी यति अन्धो भयौँ कि छेउमै ढलिरहेको आफ्नै मानव दाजुभाइको पीडा देख्ने संवेदनासमेत क्रमशः गुमाउँदै गयौँ। कुनै पनि राज्यको लोककल्याणकारी चरित्र र समाजको सभ्यताको वास्तविक मापन ठूला भवन र चौडा सडकले होइन, बरु समाजको सबैभन्दा कमजोर, अशक्त र असहाय नागरिकले पाएको सम्मान र सामाजिक सुरक्षाबाट हुनुपर्ने हो।

 

संविधानतः प्रत्येक नागरिकको गाँस, बास, कपास, स्वास्थ्य उपचार र सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गर्ने प्राथमिक दायित्व राज्यको हो। तर, राज्यका संयन्त्र सुस्त र अपर्याप्त देखिएको यही संवेदनहीनताको मरुभूमिमा नागरिक स्तरबाट करुणा र सामाजिक सुरक्षाको मूल फुटाउने एक ऐतिहासिक अभियान विगत एक दशकभन्दा बढी समयदेखि नेपालमा चलिरहेको छ— मानवसेवा आश्रम। ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्दै यस संस्थाले राज्यले गर्नुपर्ने सामाजिक सुरक्षाको दायित्वमा बलियो काँध थापिदिएको छ।

 

वि.सं.२०६९ साल भदौ १३ गते हेटौँडाको एउटा सानो भाडाको कोठाबाट सुरु भएको यो यात्रा आज देशव्यापी सामाजिक आन्दोलन बनिसकेको छ। संस्थापक अध्यक्ष रामजी अधिकारी र केही ऊर्जावान् युवाको मनमा उब्जिएको एउटै संवेदनशील प्रश्नले यो अभियानलाई जन्म दिएको थियो— “के मानिस भएर जन्मिएपछि सडकमा पशुभन्दा पनि तल्लो स्तरको जीवन बिताएर मर्नुपर्ने हो ? यदि यिनीहरूको कोही अभिभावक छैनन् भने हामी किन अभिभावक नबन्ने ?”

 

सुरुवाती दिन पक्कै पनि सहज थिएनन्। न त आश्रमसँग पर्याप्त आर्थिक स्रोत थियो, न आफ्नै भवन वा भौतिक पूर्वाधार नै। केही थान ओढ्ने–ओछ्याउने कपडा र मुठीदानबाट सङ्कलित खाद्यान्नको भरमा यो सेवा सुरु गरिएको थियो। सडकबाट मानसिक सन्तुलन गुमाएका र शारीरिक रूपले जीर्ण व्यक्तिहरूलाई उठाएर ल्याउँदा समाजका कतिपय मानिसले ती युवालाई ‘पागलहरूको सङ्गत गर्ने पागल’ भनेर खिसी गर्थे। घरधनीहरू फोहोर र होहल्ला हुन्छ भन्दै घर भाडामा दिन हिचकिचाउँथे। तर, निःस्वार्थ सेवा, धैर्य र अटल विश्वासका अगाडि ती सामाजिक र व्यावहारिक अवरोध टिक्न सकेनन्। आज मेचीदेखि महाकालीसम्म, सातै प्रदेशका दुई दर्जनभन्दा बढी सेवा केन्द्रमार्फत २ हजार ४ सयभन्दा बढी बेसहारा आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीले आश्रममा आश्रय पाइरहेका छन् भने स्थापनाकालदेखि हालसम्म १५ हजारभन्दा बढीको सडकबाट उद्धार भइसकेको छ। ६ हजार भन्दा बढीको पारिबारिक मिलन गराएको छ।

 

मानवसेवा आश्रम केवल दुई छाक खाना र ओत लाग्ने छानो दिने वृद्धाश्रम मात्र होइन; यो त समाजबाट तिरस्कृत, अपहेलित र जीवनको आशा मारिसकेका नागरिकको गुमेको आत्मसम्मान र अधिकार फर्काउने जीवन्त पाठशाला हो। आश्रमको कार्यशैली अत्यन्त व्यवस्थित, वैज्ञानिक र संवेदनशील छ। जब आश्रमका अभियन्ताले सडकपेटी वा पुलमुनिबाट कोही बेवारिस व्यक्तिलाई उद्धार गरेर ल्याउँछन्, तब त्यहाँ एक प्रकारको मानवीय रूपान्तरणको प्रक्रिया सुरु हुन्छ। वर्षौँदेखि ननुहाएका, कपाल र दाह्री जटा परेका तथा दुर्गन्धित कपडा लगाएका ती व्यक्तिको स्वयंसेवकले आफ्नै आमाबुबासरह मानेर कपाल र नङ काटिदिने, तातो पानीले नुहाइदिने, शरीरका घाउ सफा गरिदिने र सफा तथा न्यानो कपडा लगाइदिने गर्दछन्। यो सरसफाइले ती व्यक्तिको बाहिरी रूप मात्र बदल्दैन, बरु उनीहरूभित्र हराइसकेको मानवीय अस्तित्व र आत्मविश्वासलाई पनि बौरिन मद्दत गर्दछ।

 

आश्रममा आश्रित अधिकांश सदस्य कुनै न कुनै शारीरिक रोग वा गम्भीर मानसिक समस्याबाट ग्रसित हुन्छन्। सरकारी तथा निजी अस्पताल र विशेषज्ञ चिकित्सकसँगको सहकार्यमा उनीहरूको नियमित स्वास्थ्य परीक्षण र उपचार गरिन्छ। विशेष गरी मानसिक सन्तुलन गुमाएका व्यक्तिका लागि नियमित औषधि सेवनसँगै योग, ध्यान, सङ्गीत चिकित्सा र आत्मीय मनोपरामर्शको व्यवस्था मिलाइएको हुन्छ। आश्रममा कसैलाई पनि ‘बेसहारा’ वा ‘मगन्ते’ भनिँदैन, बरु सबैलाई ‘लक्ष्मीनारायण’ वा ‘आमाबुबा’ का रूपमा सम्मानपूर्वक सम्बोधन गरिन्छ। यही मायालु वातावरण र नियमित उपचारका कारण वर्षौँसम्म बोल्न नसक्ने, आफ्नो नाम र ठेगानासमेत बिर्सिएका हजारौँ मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवनमा फर्किएका छन्।

 

सामाजिक सुरक्षाको दृष्टिकोणले मानवसेवा आश्रमको सबैभन्दा सुन्दर, भावुक र पवित्र पक्ष पारिवारिक पुनर्मिलन हो। उपचार र सेवा पाएपछि जब आश्रित व्यक्तिको स्मरणशक्ति फर्किन्छ, तब आश्रमका अभियन्ताले उनीहरूले बताएका ठेगाना र आफन्तको खोजी सुरु गर्छन्। स्थानीय प्रहरी, जनप्रतिनिधि र सामाजिक सञ्जालको सहयोगमा परिवार पत्ता लगाएर उनीहरूलाई ससम्मान घरपरिवारको जिम्मा लगाइन्छ। हालसम्म हजारौँ व्यक्ति यसरी आफ्नै परिवारसँग पुनर्मिलन भइसकेका छन्। पुनर्मिलनपछि पनि परिवारले राम्रो हेरचाह गरेको छ कि छैन भनी आश्रमले समय–समयमा अनुगमनसमेत गर्ने गर्दछ। जसको घरपरिवार र आफन्त कोही पनि पत्ता लाग्दैनन् वा जो पूर्ण रूपले अशक्त छन्, उनीहरूलाई आश्रमले जीवनभर आफ्नै परिवारको सदस्य मानेर पालनपोषण गर्दछ। यदि आश्रममा आश्रित कसैको निधन भएमा अभियन्ताले नै छोराछोरीको कर्तव्य निर्वाह गर्दै धार्मिक विधिअनुसार ससम्मान अन्तिम संस्कार र काजकिरिया गरिदिन्छन्।

 

राज्यको कोषमाथि भार नथपी नागरिक स्तरबाटै सामाजिक सुरक्षाको यस्तो बृहत् संरचना सञ्चालन गर्नु चानचुने विषय होइन। आश्रमले कुनै पनि विदेशी दातृ निकायको सर्तसहितको अनुदानमा भर नपरी मुख्यतः नेपाली मनकारी दाताको मुठीदान, स्वैच्छिक सहयोग र स्थानीय सरकारसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको छ। आश्रमले नेपाली समाजका विभिन्न संस्कार र उत्सवलाई मानवीय सेवासँग जोड्ने अत्यन्त प्रभावकारी संस्कृतिको विकास गरेको छ। आजभोलि हजारौँ नेपालीले आफ्नो जन्मदिन, विवाहको वार्षिकोत्सव, सन्तानको पास्नी, व्रतबन्ध, सफलताको खुसियाली वा दिवङ्गत पितृको पुण्यतिथिमा फजुल खर्च गर्नुको सट्टा आश्रममा गएर एक छाक भोजन गराउने, अन्नदान गर्ने वा आर्थिक सहयोग गर्ने परम्परा बसालेका छन्। ‘एक दिनको भोजन सेवा’, ‘अक्षयकोष निर्माण’ र ‘आजीवन सदस्यता’ जस्ता कार्यक्रमले आम नागरिकलाई सामाजिक उत्तरदायित्वसँग प्रत्यक्ष जोडेका छन्।

 

समाजमा मानवीय चेतना जगाउन आश्रमले सञ्चालन गरेका बृहत् अभियान ऐतिहासिक छन्। वि.सं. २०७७ सालको कठ्याङ्ग्रिँदो जाडोमा पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका राजमार्ग र सहरका गल्लीबाट सयौँ बेसहारा व्यक्तिको उद्धार गर्न सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ ले सिङ्गो देशको ध्यान खिचेको थियो। त्यस्तै, चर्चित साङ्गीतिक समूह ‘नेपथ्य’ सँगको सहकार्यमा देशका प्रमुख सहरमा आयोजित ‘मानवताका लागि सङ्गीत’ कन्सर्टले लाखौँ युवा र नागरिकमा मानवीय संवेदना जागृत गराउन र आश्रमको भौतिक पूर्वाधार निर्माणका लागि कोष सङ्कलन गर्न अभूतपूर्व भूमिका खेलेको थियो। विद्यालय र कलेजका विद्यार्थीका लागि सञ्चालन गरिने नैतिक शिक्षा र सकारात्मक सोचसम्बन्धी प्रशिक्षणले युवा पुस्तामा समाजसेवाप्रतिको आकर्षण बढाएको छ।

 

यति गौरवपूर्ण यात्राका बाबजुद सामाजिक सुरक्षाको यो अभियानले दैनिक रूपमा गम्भीर चुनौतीको सामना गरिरहेको छ। आश्रितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जाँदा खाद्यान्न, लत्ताकपडा, औषधि उपचार र व्यवस्थापनको खर्च निरन्तर उकालो लागिरहेको छ। स्वैच्छिक दानमा आधारित संस्था भएकाले कहिलेकाहीँ नियमित सञ्चालन खर्च धान्न कठिन हुने गर्दछ। अर्कोतर्फ, सडकबाट उद्धार गरिएका कतिपय व्यक्ति एचआईभी, क्षयरोग, हेपाटाइटिस, क्यान्सरजस्ता गम्भीर सङ्क्रामक तथा दीर्घरोगबाट पीडित हुन्छन्। उनीहरूको दीर्घकालीन उपचार र विशेष हेरचाहका लागि पर्याप्त चिकित्सा जनशक्ति र उपकरणको अभाव खड्किने गर्दछ।

 

सबैभन्दा चिन्ताजनक विषय त समाज र परिवारको बढ्दो गैरजिम्मेवारीपन हो। घरपरिवार, सम्पत्ति र सक्षम सन्तान हुँदाहुँदै पनि वृद्ध आमाबुबा वा मानसिक रोगी सदस्यलाई जानीजानी सडकमा ल्याएर छोडिदिने अमानवीय प्रवृत्ति अझै रोकिएको छैन। कतिपय परिवारले आश्रमलाई वृद्ध आमाबुबा पन्छाउने सजिलो थलोका रूपमा बुझ्ने जोखिम पनि उत्तिकै छ। यसका साथै, बिनातलब वा अत्यन्त न्यून निर्वाह भत्तामा चौबीसै घण्टा आमाबुबाको दिसापिसाब सोहोर्नेदेखि लिएर हरप्रकारको सेवामा खटिने समर्पित पूर्णकालीन स्वयंसेवक तयार पार्नु र टिकाइराख्नु आश्रमका लागि अर्को ठूलो चुनौती हो।

 

यहाँनेर गम्भीर नीतिगत प्रश्न उब्जिन्छ— के ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल’ निर्माण गर्ने जिम्मेवारी मानवसेवा आश्रमको मात्र हो ? पक्कै होइन। नेपालको संविधानले नै प्रत्येक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक र सामाजिक सुरक्षाको प्रत्याभूति गरेको सन्दर्भमा यो राज्यको प्राथमिक र संवैधानिक दायित्व हो। मानवसेवा आश्रमले त राज्यले गर्नुपर्ने काममा काँध थापिदिएको मात्र हो। तसर्थ, स्थानीय, प्रदेश र सङ्घीय सरकारले आश्रमलाई केवल एउटा गैरसरकारी संस्थाका रूपमा मात्र नहेरी राज्यको सामाजिक सुरक्षा नीति कार्यान्वयन गर्ने प्रमुख साझेदारका रूपमा संस्थागत बजेट, निःशुल्क स्वास्थ्य उपचार र पूर्वाधार निर्माणमा दीर्घकालीन सहयोग उपलब्ध गराउनुपर्छ। कतिपय स्थानीय तह र प्रदेश सरकारले आश्रमसँगको सहकार्यमा आफ्नो क्षेत्रलाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गरेका छन्, तर घोषणाको दिगोपनाका लागि निरन्तर अनुगमन र बजेटको सुनिश्चितता आवश्यक छ। साथै, जन्मदिने आमाबुबालाई सडकमा अलपत्र छोड्ने सन्तानलाई कडा कानुनी दायरामा ल्याउन र पैतृक सम्पत्तिमाथिको हकबाट वञ्चित गर्नेजस्ता कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन उत्तिकै जरुरी छ।

 

मानवसेवा आश्रमले भविष्यका लागि अत्यन्त दूरदर्शी लक्ष्य अघि सारेको छ। नेपाललाई पूर्ण रूपले सडकआश्रित मानवमुक्त राष्ट्र घोषणा गरी विश्वसामु ‘मानवताको देश’ का रूपमा चिनाउने आश्रमको उच्च आकाङ्क्षा छ। यसका साथै प्रत्येक सेवा केन्द्रलाई ‘सामाजिक पर्यटन क्षेत्र’ का रूपमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक, शोधकर्ता र विद्यार्थीलाई नेपाली समाजको परोपकारी संस्कृतिको अध्ययन गर्ने थलो बनाउने योजना आश्रमको छ। आश्रमलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आश्रित सदस्यको क्षमताअनुसार जैविक खेती, गाईपालन, धूप तथा बत्ती निर्माणजस्ता सिर्जनात्मक कार्यमा संलग्न गराउने प्रयास पनि सराहनीय छ।

 

अन्त्यमा, मानवसेवा आश्रमले राज्य र समाज दुवैलाई एउटा शाश्वत सत्य सिकाएको छ— मन्दिर, मस्जिद, गुम्बा वा चर्चमा गएर ढुङ्गाको मूर्तिमा पूजा गर्नुभन्दा सडकपेटीमा छटपटाइरहेको जिउँदो भगवान्‌रूपी दुःखी र बेसहारा नागरिकको सेवा र संरक्षण गर्नु नै सबैभन्दा ठूलो धर्म र राजधर्म हो। स्वार्थ र भौतिकवादको अन्धकारमा मानवसेवा आश्रमले बालेको करुणाको यो दीपले आज सिङ्गो देशलाई उज्यालो दिइरहेको छ। यदि राज्यले नीतिगत र आर्थिक अपनत्व लिने अनि प्रत्येक नागरिकले आफ्नो गाँस काटेर थोरै सहयोग गर्ने, आफ्ना वृद्ध आमाबुबालाई घरमै सम्मान र माया दिने तथा सडकमा कोही बेसहारा देखेमा आश्रमसम्म पुर्‍याइदिने हो भने कुनै पनि नेपालीले पुनः खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताउनुपर्ने छैन। नागरिक स्तरबाट सुरु भएको सामाजिक सुरक्षाको यो महाअभियानलाई संस्थागत र दिगो बनाउनु आजको राज्य र समाजको साझा दायित्व हो।

 

यादव घिमिरे 

पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका

हाल: कलंकी १४, काठमाडौँ

yadavghi[email protected] 

मोबाइल: ९८४१३६९९२८

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x