प्रधानन्यायाधीश चोलेन्द्रका भाइको ३० करोडको गैरकानुनी सम्पत्ति
वि.सं.२०७८ माघ १९ बुधवार
shares
काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभुशमशेर राणाको नाममा थप ३० करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति रहेको भन्दै छानबिनका लागि उजुरी दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागमा दर्ता भएको उजुरीमा प्रभुशमशेरका नाममा विभिन्न स्थानमा घरजग्गा फेला परेको तिनको स्रोतबारे छानबिन गर्न माग गरिएको छ ।

उजुरी अभियन्ता डा. गोविन्द केसीले दर्ता गराएका हुन् । उनले प्रभुशमशेरले अवैधरुपमा गरेको आर्जनबाट विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको सूचना विभागलाई उपलब्ध गराएका छन् । यसअघि नै केसीले प्रधानन्यायाधीश राणाको सहयोगमा विचौलियाको रुपमा उनका भाइले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धानका लागि विभागमा उजुरी दिएका थिए।
केसीसहितले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश राणाकी श्रीमतीको नाममा समेत गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति रहेकाले त्यसको पनि छानबिन हुनुपर्ने माग गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा २०७८ पुस ११ मा दर्ता भएको उजुरीसँग सम्बन्धित कसुरका सम्बन्धमा पूरक सूचना उपलब्ध गराउन केसीले विभागमा निवेदन दिएका हुन्।
प्रभुशमशेरको नाममा काठमाडौं महानगरपालिका-२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको केसीको निवेदमा उल्लेख गरिएको छ । यस्तै काठमाडौंको गोठाटार-८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गासमेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घरजग्गा रहेको तथ्य अवगत हुन आएको केसीले निवेदनमा उल्लेख गरेका छन् ।































