कोहलपुरमा नेपालकै नमुना बसपार्क बन्दै
वि.सं.२०७८ माघ २३ आइतवार
shares
बाँकेको कोहलपुरमा नमुना बसपार्क निर्माण धमाधम भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराहनजिक नमुना बसपार्क निर्माण थालिएको हो ।
अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । २०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो । बसपार्क निर्माणका लागि कुल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट विनियोजन गरिएको छ ।
पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कको खड्का-दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको छ । पूर्व-पश्चिम राजमार्गसँग जोडिएको कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ ।
कोहलपुर बसपार्कबाट राष्ट्रियदेखि अन्तर्राष्ट्र्रिय बससमेत सञ्चालन हुने नगरप्रमुख रावतको भनाइ छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।
बसपार्कमा निर्माण हुने सटर, सपिङ कम्प्लेक्स, बसपार्क पार्किङलगायतका संरचनाबाट कोहलपुर नगरपालिकाको आन्तरिक आयस्रोत बढ्ने ढकालले बताए । बसपार्क सञ्चालनमा आएपछि यात्रुलाई सहज हुने र कोहलपुरको विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । पाँच तलाको सपिङ कम्प्लेक्ससहितको निर्माणाधीन बसपार्क नेपालकै नमुना बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताए । यसलाई नगरपालिकाले गौरवको योजनाका रूपमा अगाडि सारेको छ ।





























