ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति
वि.सं.२०७८ माघ २५ मंगलवार
shares
काठमाण्डौ । सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष श्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा लगानी बोर्डको ४९ औं बैठक आज मंगलबार सम्पन्न भयो।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा क्रमश अनुमानित 125 मेगावाट तथा 225 मेगावाट गरी जम्मा 350 मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि अनुमानित लागत २३ अर्ब नेपाली रुपैयाँ लगानी गर्ने गरी परियोजना विकासका सम्बन्धमा M/s Central Electronics Limited लाई सम्भाव्यता अध्ययनको लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले डावर नेपाल प्रा.लि. उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि नेरु ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार 10 रुपैयाँको लगानी स्वीकृत गरेको छ ।
त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वमित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी SJVN Limited India ले पेश गरेको प्रारम्भिक प्रतिवेदन (Inception Report) स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ ।त्यसैगरी जेनेभास्थित World Association of PPP Units and Professionals (WAPPP) संस्थाको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ ।बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
उक्त बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गर्नुभयो ।साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा
विविधिकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिनुभएको थियो ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले जानकारी गराउनु भएको थियो ।
उक्त अवसरमा माननीय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष श्री जनार्दन शर्मा ‘प्रभाकर’, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री पम्फा भुसाल, माननीय वन तथा वातावरण मन्त्री श्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।






























